‘दैनिक १० जना भ्रष्टाचारीहरुले आत्महत्या गरेको सुन्न पाइयोस्’

काठमाण्डौ , साउन १४ । सांसदहरुले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

साथै विभिन्न घटनाबारे गृहमन्त्रीको जवाफ समेत मागेका हुन् ।


सांसदहरुले निर्मला पन्त हत्या प्रकरणदेखि ललिता निवास जग्गा प्रकरणका आरोपीको आत्महत्याको घटनाबारे गृहमन्त्रीसंग जवाफ मागेका हुन् ।

संघीय संसद प्रतिनिधिसभा अन्र्तगत राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरीको अधिकारसम्बन्धी छलफल चलिरहेका बेला समिति सदस्यहरुले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुका साथै विभिन्न घटनाबारे गृहमन्त्रीको जवाफ मागे ।

नेकपाका सांसद एवं समिति सदस्य झपट रावलले भने ‘दैनिक १० जना भ्रष्टाचारीहरुले आत्महत्या गरेको सुन्न पाइयोस्’ भन्दै घटनाको सत्यतथ्य पत्ता लगाउने भन्दा पनि आत्महत्या नै भएको भन्ने ढंगले आफ्नो धारणा राखे ।

त्यसैगरी समिति सदस्य डिला संग्रौलाले निर्मला पन्त हत्या सम्बन्धमा शान्ति सुरक्षाको जिम्मेवारी सम्हालेका गृहमन्त्री राम बहादुर थापाले गैह्र जिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाइन ।

उनले भनिन्, ‘यस्ता निर्मला पन्तको जस्ता घटना हिजो पनि घटे, आज पनि घट्छन् , भोलि पनि घटिरहन्छन् भनेर गैह्जिम्मेवारी पूर्ण अभिव्यक्ति दिन मिल्छ कि मिल्दैन ? कानुन आफ्नो हातमा लिएर बोल्दै जाने हो भने निर्मलाजस्ता हजारौ निर्मलाहरु बलात्कृत हुन्छन् । हामी कहाँ सुरक्षित हुन्छौ ? त्यसैले गृहमन्त्रीलाई यो बोल्ने अधिकार छ कि छैन ?’

नेपाल प्रहरी र प्रदेश प्रहरीको अधिकारसम्बन्धी छलफल चलिरहेका बेला विषयान्तर भएको भन्दै जनार्दन शर्माले आपत्ति जनाउँदै अर्को समीक्षात्मक बैठक बोलाउन सभापतिको ध्यानाकर्षण गराएका थिए ।


समितिले नेपाल प्रहरी र प्रदेश प्रहरीको अधिकारका सम्बन्धमा छलफल गर्न गृहमन्त्री, गृहसचिव र प्रहरी प्रमुखलाई समितिमा डाकेको थियो ।

प्रतिक्रिया दिनुहोस्