बालुवाटार जग्गा प्रकरणः प्रमाण नष्ट गर्न श्रेष्ठको हत्या भएको त होइन ? घटना संकास्पद !

काठमाडौं , साउन १४ । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले युक्तप्रसाद श्रेष्ठको मृत्यु प्रकरणले प्रश्न उब्जाएको बताएका छन् ।

बालुवाटार जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा श्रेष्ठको प्रमाण नष्ट गर्न हत्या भएको हुनसक्ने भन्दै शंका व्यक्त गरेका हुन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गर्दै उनले यस्तो शंका गरेका हुन् ।

कांग्रेस पर्वतका सचिव तथा डिल्ली बजार मालपोतका तत्कालीन सुब्बा श्रेष्ठले साउन १२ गते माछा पोखरीस्थित हिमालय सिटी सेन्टरबाट हाम फालेर आत्माहत्या गरेको भनिएको थियो । तर कांग्रेस सांसद कँडेलले भने आत्माहत्या नभई हत्या भएका हुन नसक्ने भन्दै शंका व्यक्त गरे ।

‘उनले ललिता निवास प्रकरणमा नाम जोडिएपछि आत्महत्या गरे भन्ने आएको छ’, उनले भने, ‘यति सानो पदको कर्मचारीले कसरी यस्तो भूमिका खेल्न सक्छ ?’ कँडेलले आठ तलामाथिबाट खस्दा श्रेष्ठको रगत पनि नदेखिएको भन्दै थप शंका गर्ने ठाउँ रहेको बताए ।

‘उनी करिब ९० किलोका थिए । आठ तलामाथिबाट हामफाल्दा उनको रगत पनि आएको छैन, अरू केही पनि भएको छैन । त्यहाँ देख्ने पनि कोही पाइएन’, उनले भने, ‘ कतै प्रमाण लुकाउन उनको हत्या त भएको हैन ? ’

मृत्युदण्डको सजाय ल्याउन माग

सांसद प्रेम सुवालले अपराधीलाई मृत्युदण्ड नदिएसम्म अपराध नघट्ने दाबी गरे । उनले पछिल्लो समय हत्याहिंसाका घटना बढेको भन्दै यस्तो सजाय ल्याउन माग गरे । ‘मृत्युदण्डको सजाय नल्याएसम्म यस्ता अपराधको संख्य घट्दैन’, उनले भने, ‘त्यसकारण संविधान संशोधन गरेर मृत्युदण्डको सजाय ल्यऔँ । यसका लागि समितिले निर्देशन दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्