कक्षा १२ को परीक्षाफल प्रकाशित

काठमाडौं, १३ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ ।

सोमवार साँझ परीक्षाको नतिजा प्रकाशित गर्न दिउँसो ४ बजे बोर्ड बैठक बसेको थियो । गत बैशाख महीनामा कक्षा १२ को परीक्षा भएको थियो ।
सार्वजनिक गरिएको नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए ।

नियमित तर्फका २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थी मध्ये ३ हजार ६७ जनाले मात्र उच्च तहको जीपीए प्राप्त गरेका हुन् । ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४ जना रहेको छ ।

ग्रेडिङ पद्दतिअनुसार ९ वटा तहको ग्रेडअनुसार बोर्डले नतिजा सार्वजनिक गरेको हो । ३१ हजार विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन् । २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ५६ हजार ५ सय ३ जना रहेको छ । सबैभन्दा धेरै विद्यार्थीले मध्यम स्तरको जीपीए प्राप्त गरेको बोर्डले जनाएको छ । २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थी ८६ हजार २ सय २७ जना रहेका छन् ।

१.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ जना छन् । १.२१ देखि १.१६० प्राप्त गर्नेको संख्या १९ हजार रहेको छ भने ०.८१ देखि १.२० ल्याउने परीक्षार्थी ३ हजार ५ सय २४ जना छन् । सबैभन्दा कम स्तरको ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ जना रहेका छन् ।

ग्रेडवृद्धि तर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी परीक्षामा सहभागी थिए । आंशिकतर्फ ४१.८३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जनाए । ५७ हजार १ सय ७० परीक्षार्थीले आशिंक तर्फ परीक्षा दिएकोमा २३ हजार ९ सय १५ जना मात्र उत्तिर्ण भएका हुन् । बोर्डले गतवर्ष देखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिअनुसार प्रकाशित गर्न थालेको हो ।
मनाङबाट सबैभन्दा थोरै ११० र काठमाडौंबाट १ लाख ३४ हजार ११५ जना परीक्षार्थीले परीक्षा दिएका थिए । बोर्डले गतवर्ष देखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिअनुसार प्रकाशित गर्न थालेको छ ।
बोर्ड बैठकमार्फत निर्णय गराएर मात्र परीक्षाफल प्रकाशित गर्ने प्रचलन अनुरुप बोर्ड बैठक बोलाइएको थियो । बोर्ड बैठकले सो नतिजा प्रकाशित गरेको हो ।

विगतमा विज्ञान र अन्य विषयको परीक्षा अलग–अलग समयमा प्रकाशन गर्ने गरिएको थियो । तर, यसपटक सबै विषयको परीक्षाफल एकैपटक प्रकाशित गरेको छ ।

कक्षा १२ को परीक्षा गत वैशाखमा सञ्चालन भएको थियो ।
परिक्षाको नतिजा नेपाल टेलिकम, एनलेस, तथा अन्य नेटबाट पनि हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्