प्रधानमन्त्री ओलीद्वारा संसारभरका लगानीकर्तालाई नेपालमा लागानी गर्न आग्रह


काठमाडौं , साउन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वरभरका लगानीकर्तालाई नेपालमा लगानी गर्न पुनः आग्रह गरेका छन् ।

आजदेखि यहाँ शुरु भएको ‘इन्डिया नेपाल लजिस्टिक समिट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानूनी, संस्थागत एवं प्रक्रियागत रुपमा रहेका झण्झट हटाई वर्तमान सरकारले लगानीमैत्री वातावरण तयार पारेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीले लगानीकर्ताको सहजीकरणका लागि ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन’ लगायतका ऐन कार्यान्वयनमा रहेको र लगानीकर्ताको सहजीकरणका लागि एकल बिन्दु सेवा केन्द्रसमेत सञ्चालनमा आइसकेको जानकारी दिँदै भने, “हामी भारतलगायत संसारभरका लगानीकर्तालाई लगानीका लागि आग्रह गर्दछौँ ।”
राजनीतिक स्थायित्वसहितको वर्तमान सरकार गठन भएको, लगानीको भरपर्दो वातावरण सिर्जना गरिएको, आर्थिक विकास र समृद्धि नै सबैको साझा लक्ष्य रहेकाले पनि नेपाल लगानीका लागि सुगम र भरपर्दो गन्तव्य भएको प्रधानमन्त्रीको भनाइ थियो ।

सडक सञ्जालको विस्तारमा प्रमुख प्राथमिकता दिइएको, रेलमार्ग, जल यातायातका लागिसमेत काम भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्सार परीक्षणमा समेत थप सहजीकरण गरी विद्युतीय प्रणाली लागू भएको बताए ।

“सरकारले भन्सार प्रणालीलाई थप व्यवस्थित र विद्युतीय बनाएको छ । उद्योगी तथा व्यवसायीलाई पनि सहजरुपमा व्यापार तथा वाणिज्यका लागि मार्गप्रशस्त गरिएको छ”, उनले भने ।रासस

प्रतिक्रिया दिनुहोस्