कहाँ पुग्यो दैलेखमा पेट्रोलियम अन्वेषणको काम ? अवस्थाबारे मन्त्री यादवले गरे चिनियाँ टोलीसँग छलफल
काठमाडौँ , साउन १२ । चिनियाँ सहयोगमा दैलेखमा अन्वेषण भइरहेको पेट्रोलियम पदार्थको अवस्थाबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले चासो व्यक्त गरेका छन् ।
अन्वेषणको हालसम्मको अवस्थाबारे मन्त्री यादवले आईतबार चिनियाँ टोलीसँग छलफल गरेका छन् ।
चिनियाँ टोलीहरुलाई मन्त्रालयमै बोलाएर मन्त्री यादवले उक्त कार्यको हालसम्मको प्रगति बारे जानकारी लिएका हुन् ।
मन्त्रीसँगको छलफलमा चिनियाँ टोलीले उक्त पेट्रोलियम पदार्थको अन्वेषणको क्रममा हालसम्म ‘जियोलोजीकल म्यापिङ्ग’ सम्मको काम सम्पन्न भएको जानकारी गराएका थिए ।
भेटघाटको क्रममा चिनियाँ टोलीले अब ‘म्यागनेटो टेलरिक’ र ‘टु डी सिस्मिक सर्वे’ गरि प्रोफाईल लाईन यकिन गर्नुपर्ने काम बाँकी रहेको र उक्त कामका निम्ति मन्त्रालयसँग आवश्यक उपकरण आयातका काममा सहयोगको अपेक्षा गरेका थिए ।
जवाफमा मन्त्री यादवले उक्त अन्वेषणका निम्ति चाहिने आवश्यक उपकरणहरु आयात कार्यमा मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सिस्मिक सर्वे पश्चात् ड्रिल गर्ने स्थलहरूको पहिचान हुने र यी कार्यहरू यसै वर्षको अक्टोबरबाट थालिने चीनियाँ टोलीले जानकारी गराए ।
,
प्रतिक्रिया दिनुहोस्