गुन्डागर्दी गर्नेलाई छोड्दै नछोड्नुस्ः कृषिमन्त्री खनाल
काठमाडौं, साउन १२ । कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणि खनालले गुन्डागर्दी गर्नेलाई नछाड्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।
देशभरका मन्त्रालय मातहतका पशु, प्लान्ट र खाद्य क्वारेन्टाइन प्रमुखहरूलाई मन्त्रालयमा बोलाएर गरिएको छलफलका क्रममा उनले यस्तो निर्देशन दिएका हुन्।
सो क्रममा क्वारेन्टाइन प्रमुखहरूले कामका क्रममा आइपरेका असहजताका सम्बन्धमा गुनासो सुनाएका थिए। भन्सारले दुस्ख दिने, हाकिमबाट धाकधम्की आउनले बेलाबेलामा कुटपिट समेत हुने गरेको उनीहरुको गुनासो थियो।
’व्यापारीले पनि हैरान पार्छन्। क्वारेन्टाइनमा बसेर काम गर्न र्गाहो छ। पत्रकारले पनि त्यस्तै गर्छन। मन्त्री, सचिव र डिजीको नाम लिन्छन्,’ छलफलमा सहभागी एक कर्मचारीले भने, ’मन्त्रीको सोर्स लगाएर आउनेको काम नगर्नु भन्ने मन्त्रीको जवाफमा एक क्वारेन्टाइन अधिकारीले भने, ’त्यसो गर्यो भने त कुट्छन्। सरकारले अह्राएको काम नगरे कार्बाही गर्ला, एक तह घटुवा गर्ला, ज्यान त जान्न नि।’
उनीहरले ल्याब र जनशक्तिको अभाव भएको समेत गुनासो गरेका थिए।
जवाफमा मन्त्री चक्रपाणि खनालले काम कसरी भएको छ भन्दै जिज्ञासा राखेका थिए। ’क्वारेन्टाइनमा समस्या के छन् भनेर बुझ्न खोजिएको हो। तीनवटै निकायको समन्वय नहुनु एउटा समस्या भएको छ। ठूलोले सानोलाइ हेप्ने संसारभरिकै समस्या हो,’ मन्त्री खनालले भने, ’भन्सार र अर्थसङको समन्वय बढाउनु पर्छ। उत्पादन बढाऔं। उत्पदन बढाउन कसैले रोकेको छैन। कर्मचारी कम, भौतिक संरचना र सेवासुविधाका समस्याका कुरा आए। त्यो समाधान हुन्छ।’
भौतिक पूर्वाधारका समस्या समाधान गर्न कम्तीमा पनि ३र४ वर्षको योजना दिन पनि मन्त्रीले निर्देशन दिएका थिए। ’चेकजाँचलाई निरन्तर र कडाइ गरौं। हिजोका दिनमा अन्य देशबाट जसरी आइरहेको थियो। त्यसरी त ल्याउन दिइन्न। असन्तुलित नबनौं,’ उनले भने, ’व्यापारका नाममा गुण्डागर्दी गर्नेलाई छोड्दै नछोड्नुस्। मन्त्रीको हवला दिएर आउनेको काम त झन गर्दै नगर्नुस्। तर जनताको काममा सहज बनिदिनुस। अहिले हामीसँग भएका ल्यावलाइ राम्रोसँग चलायौ भने विषादी जाँच गर्न समस्या हुन्न।’
पशुपन्छी सचिव प्रकाश माथेमाले सबैतिर समान समस्या रहेको बताएका थिए। कृषि सचिव युवकध्वज जिसीले समायोजनका कारण कर्मचारीमा समस्या आएको हुन सक्ने बताए।
पशुपन्छी तर्फ ८ वटा क्वारेन्टाइन कार्यालय, स्थायी र अस्थायी गरी २८ चेकपोस्ट छन् भने कृषि तर्फ १५ वटा क्वारेन्टाइन कार्यालय छन्।
प्रतिक्रिया दिनुहोस्