नेपाल–भारतबीचको व्यापार र लगानीलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं, साउन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक र रेल सेवाको विस्तार गरेर दुईमुलुकबीचको व्याापारलाई सहज बनाउन नेपाल सरकार लागि परेको बताएका छन् ।

आईतबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन’ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

दुवै मुलुकको आर्थिक विकास र जनतासँगको सम्बन्धलाई विस्तार गर्न पनि पारवहन सहजीकरणमा जोड दिनुपर्ने पनि स्पष्ट पारे । साथै उनले नेपाल–भारतबीचको व्यापार र लगानीलाई सरकारले उच्च प्राथमिकता दिएको समेत बताए ।

प्रधानमन्त्री ओलीले नेपालको व्यापारको ठूलो हिस्सा भारतबाटै हुने भएकाले त्यसलाई अझै सहज ढंगले अघि बढाउनुपर्नेमा पनि जोड दिए ।

उनले छोटो समयमै नेपालमा सहज ढंगले सामानहरुको ढुवानी हुने गरी पारवहन सहजीकरण गर्न भारतीय पक्षबाट आवश्यक सहयोगको अपेक्षा गरिएको पनि बताए ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपालको समृद्धिका लागि आवश्यक सबै खालको सहयोग गर्न भारत तयार रहेको बताए ।

दुई दिनसम्म चल्ने सम्मेलनमा दुवै देशका व्यापारी तथा वाणिज्य क्षेत्रका विज्ञहरु, सरकारी पदाधिकारीहरुले दुई मुलुकबीच हुने आयात÷निर्यात सहजीकरणका विषयमा विस्तृत छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्