उपत्यकाका सडकमा अब छिट्टै बिजुली बस सरर… गुड्ने, २५ ओटा ल्याउने तयारी

काठमाण्डौं , साउन १२ । अब काठमाण्डौमा बिजुली बस सरर गुड्ने भएका छन् ।

काठमाण्डौ उपत्यकामा छिट्टै धुला, धुँवारहित र वातावरणमैत्री विद्युतीय सार्वजनिक बस गुडेको हामी देख्न पाउने भएका छौ।

यसका लागि यति बेला निजी क्षेत्रको सुन्दर यातायात प्रालिले विद्युतीय सार्वजनिक बस सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।


यो कम्पनीले चीनबाट विद्युतीय बस भित्र्याउन चिनियाँ बस निर्माता कम्पनी गोहाङ अटोमोवाइल कम्पनीसँग सम्झौता पनि गरिसकेको छ । अब साउनभित्र नै चीनको बीएके ब्राण्डका विद्युतीय बसहरु गुड्ने सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए ।


थापाका अनुसार दुई ओटा विद्युतीय बस चीनबाट नेपालतर्फ छुटिसकेका छन् । काठमाण्डौका सडकमा गुडिरहेका बसभन्दा फरक र नेपालको सडक सुहाउँदो बिजुली बस ल्याउन लागिएको अध्यक्ष थापाले बताए ।

सुन्दर यातायात प्रालिले यो वर्ष झण्डै २५ ओटा बिजुली बस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । जसका लागि ११ वटा विद्युतीय बसको सम्झौता भैसकेको र बाँकी बसका लागि पनि प्रक्रिया शुरु भैसकेको सुन्दर यातायात प्रालि सञ्चालक समितिका अध्यक्ष सुरेश पोखरेलले बताए ।

उनले भने , ‘दुई वटा विद्युतीय बस नेपालका लागि हिँडिसकेका छन् । ती बस नेपाल आइसकेपछि परीक्षण हुनेछ र लगत्तै उपत्यकाका सडकमा विद्युतीय बस सञ्चालनमा आउनेछ ।’

यसैबिच सुन्दर यातायातले ल्याउन लागेको विद्युतीय बस यात्रुमैत्री रहेका छन् भने सुरुवाती चरणमा दुई प्रकारका बस सञ्चालनमा आउनेछन् । ४० सिटे बसमा अरु ३० जना यात्रुले उभिएर नै आरामसँग यात्रा गर्न सक्नेछन् ।

त्यस्तै ३५ सिटे बसमा पनि अरु २५ जना यात्रुले आरामदायी यात्राको अनुभूति गर्ने सञ्चालक समितिका अध्यक्ष पोखरेलले दाबी गरे ।
सुन्दर यातायातका अनुसार विद्युतीय बसमा भित्र आकर्षक र सुविधायुक्त बनावटका हुनेछ ।

प्रतिक्रिया दिनुहोस्