चिकित्सकको मनपरी : तोकिएभन्दा ६० प्रतिशत बढी रकम असुल्दै, सरकारी संयन्त्र भने मौन

काठमाडौं, साउन ११ । देशभरका निजी तथा सरकारी अस्पतालमा कार्यरत चिकित्सकले अस्पतालपिच्छे फरक–फरक शुल्क असुल्दै आएको पाइएको छ ।

केही अस्पताल र सम्बन्धित चिकित्सकले प्रतिबिरामी तोकिएभन्दा ६० प्रतिशतसम्म बढी रकम लिने गरेको पाइएको हो ।

अस्पताल सञ्चालनलगायतका विभिन्न बहाना देखाउँदै बिरामीबाट एक हजार रुपैयाँसम्म बढी शुल्क लिने गरिएको पीडित बिरामीको गुनासो छ ।

अस्पतालले बिरामीसँग लिने शुल्क निर्धारण तथा नियमन गर्ने सरकारी संयन्त्रले प्रभावकारी ढंगले अनुगमन नगर्दा उपचारका लागि आउने बिरामीसँग मनोमानी ढंगले शुल्क लिने गरिएको छ ।

सम्बन्धित अस्पतालले चिकित्सकको शुल्कसम्बन्धी व्यवस्थालाई समेत सूचना पाटीमा टाँसेका छैनन् । यसकारण, बिरामीहरू मनपरी शुल्क तिर्न बाध्य छन् ।

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्दे्शिका २०७० को दफा ३० को अनुसूची ७ मा सेवा शुल्क निर्धारण समितिको व्यवस्था उल्लेख छ ।

स्वास्थ्य संस्थाले उपचारका नाममा मनोमानी शुल्क लिन नसकून भनेर यो समितिको व्यवस्था गरिएको थियो ।

जसमा अध्यक्ष स्वास्थ्य सचिव हुने र सदस्यमा वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रथम श्रेणीको प्रतिनिधि, महानिर्देशकहरू, स्वास्थ्य सेवा विभाग, आयुर्वेद व्यवस्था विभाग र औषधि व्यवस्था विभाग रहने व्यवस्था छ ।

यसैगरी, अपिनको अध्यक्ष, उपभोक्ता महासंघ प्रतिनिधि र उद्योग वाणिज्य महासंघको प्रतिनिधि सदस्य हुने व्यवस्था छ । (राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्