नेपाल र चिनबीच नयाँ हवाई सम्झौता, अब नेपालले चीनका १५ सहरमा सिधा उडान गर्न पाउने

काठमाडौं, साउन १० । नेपाल र चीनबीच शुक्रबार बेइजिङमा नयाँ हवाई सम्झौता भएको छ। यस संगै अब नेपालले बेइजिङसहित चीनका १५ सहरमा सिधा उडान गर्न पाउने भएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा बेइजिङ पुगेको नेपाली प्रतिनिधिमण्डलले चीनमा नेपाली जहाजले हवाई उडानको सुविधा पाउने गरी नयाँ सम्झौता गरेको हो।

सम्झौताअनुसार नेपालले चीनका १५ वटा विमानस्थल प्रयोग गर्न पाउने छ भने हप्तामा ९८ उडान हुनेछन्। त्यस्तै, चीनले पोखरा र गौतमबुद्ध विमानस्थलमा मात्रै हप्तामा २१ वटा उडान गर्न पाउने भएको पर्यटन मन्त्रालयले जनाएको छ।

यो सम्झौतासँगै नेपाल एयरलाइन्स तथा हिमालय एयरलाइन्सलाई चीनमा उडानको बाटो खुलेको छ। नेपालले उडान अनुमति पाएका गन्तव्यमा बेइजिङ, सांघाई, सियान, ग्वान्झाओ, ल्हासा, चेङ्दु, छोइछिङ, कुन्मिङ लगायत रहेका छन्।

नेपाल एयरलाइन्सले भने ग्वान्झाओ उडानमा जोड दिएको छ। यसअघि नेपालले ७ वटा गन्तव्यमा उडान गर्न पाउने सहमति थियो।

यो सम्झौता भएपछि काठमाडौं र बेइजिङबीच सिधा उडानका लागि हिमालयन एअरलाइन्सले स्लट पाएर उडान संचालन गर्ने तयारी भइरहेको छ। उसले अनुमति पाइसकेको छ।

हाल चीनका ५ वटा वायुसेवा कम्पनीले नेपालमा नियमित उडान गरिरहेका छन्।नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकनका लागि नेपाली टोली बुधबार बेइजिङ पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्