१सय ४० जना अख्तियारको छानबिनमा

काठमाडौं, साउन ८ । १४० जनाको हाराहारीका व्यक्तिहरुको सम्पत्ति अख्तियारले छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

प्रमुख आयुक्त नवीन कुमार घिमिरेले सम्पत्ति सुद्धीकरणको विषयमा आयोगले विभिन्न व्यक्तिहरुमाथि गम्भीर अनुसन्धान गरिरहेको बताएका छन् ।

तर, व्यक्तिको सामाजिक प्रतिष्ठामा हुन सक्ने क्षतिलाई ध्यानमा राखेर अनुसन्धान निष्कर्षमा नपुगेसम्म विवरण सार्वजनिक गर्ने पक्षमा आफूहरु नरहेको घिमिरेले स्पष्ट पारे ।

अहिले पनि १४० जनाको हाराहारीका व्यक्तिहरुको सम्पत्ति अख्तियारले छानबिन गरिहरेको उनको भनाई छ।

‘हामीले १३० देखि १४० जना व्यक्तिहरुको सम्पत्ति छानबिन गरेका छौं ’ बुधबार सञ्चारमाध्यमका सम्पादकहरुसँगको अन्तर्क्िरया कार्यक्रममा क्रममा उनले भने, ‘हामी अनुसन्धानको प्रक्रियामा छौं, सबै विषय अदालतमा प्रवेश गरिसकेपछि मात्रै सार्वजनिक हुन्छ ।’

घिमिरेले आयोगको कार्य्दिशालाई गति प्रदान गर्न आफू लागिपरेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण अख्तियार एक्लैले नसक्ने भएकाले सबै पक्षको सहयोग र सहकार्य जरुरी रहेको बताए ।

यसैगरी घिमिरेले विगतका सकारात्मक तथा नकारात्मक विषयबाट पाठ सिक्दै आयोग अगाडि बढ्ने पनि प्रतिवद्धता पनि जनाए ।

‘यहाँ आयोगले विद आउट फेयर र फेबरको काम गर्छ कि गर्दै भन्ने कुरा आयो । हामीले विगतबाट नै सिक्ने हो’, उनले भने, ‘मैले बारम्बार भन्ने गरेको छु, आयोग विभिन्न कालखण्डमा अरोह र अवरोधको स्थितिमा गुज्रेको छ। यसैबाट सिकेर सकारात्मक कुरालाई ग्रहण गर्दै जाने र नकारात्मक कुरा पुनरावृत्ति नहोस् भन्नेमा हामी सचेत छौं ।’

सम्पत्ति सुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभाग अहिले प्रधानमन्त्री कार्यालय मातहत रहेको उल्लेख गर्दै घिमिरेले ती निकायसँग आयोगले सहकार्य गरेर काम गरिरहेको जानकारी दिए ।

सुुशासन र समृद्धि नेपाल सरकार र संसदको प्रतिवद्धता हो भने राज्यले अख्तियारलाई सशक्त निकायको रुपमा महसुश गराउनु पर्ने कुरामा उनले जोड दिए ।

‘सरकारले यी कुरालाई अहिले केही हदसम्म सुनेको पनि छ । कति कुरा त कार्यान्वयनको प्रक्रियामा पनि छ’ घिमिरेले भने, ‘सुशासन सम्मानित संसद र नेपाल सरकारको प्रतिवद्धता हो भने हामीले जे आग्रह गरेका छौं त्यसलाई गम्भीरतापूर्वक लिइनु जरुरी छ।’

उनले आवश्यक ऐन पारित गरेर सरकारले आयोगलाई उपलब्ध गराउने पनि विश्वास व्यक्त गरे ।

उनले राजनीतिक नेताहरुमागि हात हाल्न नसकेको बारेमा टिप्पणी गर्दै घिमिरेले त्यो परिणामले देखाउने प्रतिक्रिया दिए ।

आयोगमा कतिपय व्यक्तिगत रिसिइबीका कारणले पनि उजुरी दर्ता हुने गरेको उल्लेख गर्दै यसबारे पनि आफूहरु सचेत रहेको घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्