नेपाल एपीएफ स्कुलमा कक्षा ११ को स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौ । सशस्त्र प्रहरी बल, नेपालद्वारा संचालित नेपाल एपीएफ स्कुलले कक्षा ११ विज्ञान तथा व्यवस्थापन संकायको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यालयका प्रधानाचार्य अज बहादुर के.सी., विद्यालय समादेशक स.प्र.ना.उ. समेनन्द बज्राचार्य, सहायक प्रधानाचार्य युवराज पराजुली, स्कुल सुरक्षा पोष्टका पोष्टपती स.प्र.नि. अशोक न्यौपाने, शिक्षक शिक्षिकाहरु, स्कुलमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरु, कक्षा ११ को विज्ञान तथा व्यवस्थापन संकायमा नयाँ भर्ना भएका विद्यार्थीहरु र कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


कक्षा १२ का विज्ञान तथा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुले संचालन गरेको उक्त कार्यक्रममा प्रधानाचार्य अज बहादुर के.सी.ले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा उहाँले विद्यालयले अनुशासनलाई उच्च प्राथमिकता दिने हुँदा विद्यालयको सम्पूर्ण कार्य गर्दा गराउँदा अनुशासनको परिधिमा रहेर गर्नुपर्ने कुरा बताउनु भयो । कार्यक्रममा कक्षा १२ विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।


उक्त अवसरमा विज्ञान संकायका संयोजक सूर्यकान्त लाल कर्ण र व्यवस्थापन संकायका संयोजक सुरेन्द्र अधिकारीले विज्ञान तथा व्यवस्थापन संकायको बारेमा नयाँ विद्यार्थीहरुलाई प्रष्ट पारेका थिए । त्यसैगरी सहायक प्रधानाचार्य युवराज पराजुलीले विद्यालयको नीति नियमको बारेमा प्रष्ट पार्नु भएको थियो । सो अवसरमा विद्यालय समादेशक स.प्र.ना.उ. समेनन्द बज्राचार्यले नयाँ विद्यार्थीहरुलाई स्वागत गर्नुको साथै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्