बाढी पहिरो प्रभावितलाई ट्रेड युनियनको १० लाख र केडिया अर्गनाइजेशनको १५ लाख सहयोग

काठमाण्डौ , साउन ८ । गएको असार २७ गतेबाट ३ दिनसम्मको लगातारको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट दर्जनौँले ज्यान गुमाउनु परेको थियो भने दर्जनौँ घाइते र हजारौँको संख्यामा विस्थापित भएका थिए ।

यसैले गर्दा कयौँको बिचल्ली पनि भएको छ । बाढी, पहिरो र डुबान पीडितको राहतका लागि यति बेला विभिन्न संघसंस्थाले आर्थिक सहयोग गरिरहेका छन् ।

यसैबचि निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले बाढी, पहिरो र डुबान पीडितको राहतका लागि १० लाख आर्थिक सहायता उपलब्ध गराएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी युनियनका पदाधिकारीहरुले बाढी, पहिरो र डुबान पीडितको राहतका लागि १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा युनियन र युनियनमा आवद्ध राष्ट्रिय स्तरका कर्मचारी संघ, संगठनहरुको पहलमा संकलन गरिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् पीडितलाई राहत दिन हस्तान्तरण गरिएको युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले जानकारी दिए ।

त्यस अवसरमा उहाँले युनियनले विगतमा पनि भूकम्पलगायतका पीडितलाई राहत उपलब्ध गराउँदै आएको पनि स्मरण गराउनु भएको थियो ।

यसैबचि बाढी पिडितलाई औद्योगिक घराना केडिया अर्गनाइजेशनले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् बाढी, पहिरो र डुबान पीडितका लागि १५ लाख आर्थिक सहायता प्रधानमन्त्री ओलीलाई उपलब्ध गराएको थियो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले बाढी, पहिरो र डुबान पीडितलाई राहत उपलब्ध गराएकोमा दुवै संस्थाप्रति आधार व्यक्त गरेका थिए ।

यसैगरि लगातार वर्षाले गर्दा दिनहुँ जसो विभिन्न स्थानका पहिरो जाने क्रम अझै जारी रहेको केहि दिन अगी पहिरोमा च्यापिएर गुलमीमा मात्रै १० जनाले ज्यान गुमाएका थिए ।

आज पनि काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउँमा पानि परिरहेको छ । यो क्रम बिहिबार सम्म जारी रहने मौसम्विद्ले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्