तिलगंगा आँखा अस्पताललाई डब्लूएचओले समन्वय केन्द्रको मान्यता
काठमाडौं, ६ साउन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले तिलगंगा आँखा अस्पताललाई आफ्नो समन्वय केन्द्रको रुपमा मान्यता दिएको छ ।
डबलूएचओले आफ्नो २५औं वाषिर्कोत्सवको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अस्पताललाई समन्वय केन्द्रको मान्यता दिएको घोषणा गरेको हो ।
आँखाको स्वास्थ्य सेवा, लेन्सको उत्पादन र अनुसन्धानको क्षेत्रमा उल्लेख्य योगदान र्पुयाएकाले अस्पताललाई समन्वय केन्द्रको मान्यता दिइएको डब्लूएचओले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अस्पतालले आँखाको उपचारको क्षेत्रमा असाधारण काम गरेको भन्दै प्रशंसा व्यक्त गरे ।
उनले अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुईतलगायतका टिमले आँखा उपचारको क्षेत्रमा र्पुयाएको योगदानको समेत प्रशंशा गर्दै अस्पतालका लागि आवश्यक सबै सहयोग गर्न सरकार सधैं तत्पुर रहेको बताए ।
कार्यक्रममा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आँखाको स्वास्थ्य सेवालाई अन्य सेवासँगै छोडेर अघि बढाउने गरी सरकारले स्वास्थ्य नीति ल्याएको जानकारी दिए ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक रुईतले आँखा अस्पतालले २५ वर्षयता आँखाको क्षेत्रमा र्पुयाएको योगदानको स्मरण गराए ।
हालसम्म ६० लाख व्यक्तिको उपचार गरेको र ४ लाख बढीको आँखाको शल्यक्रिया गरिएको निर्देशक रुईतले बताए ।
प्रतिक्रिया दिनुहोस्