सोमबारको मौसम : भारी वर्षा र बाढीको सम्भावना , सतर्कता अपनाउन आग्रह , कुन क्षेत्रमा कस्तो ?

काठमाडौँ , साउन ६ । देशभरको मौसम बदली तथा वर्षाको अवस्थामा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पूर्वी तथा मध्य क्षेत्रका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भएको र केही स्थानमा मेघ गर्जनसहित वर्षा जारी रहेको मौसमविद शान्ति कँडेलले बताइन् । यसतै पश्चिमका भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ र एक–दुई स्थानमा पानी परेको छ ।


सोमबार दिनभर पनि देशका पूर्व र मध्य क्षेत्रमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहने छ । यस्तै पश्चिमका क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ ।


पूर्वका अधिकांश तथा मध्य र पश्चिमका केही स्थानमा वर्षा हुने मौसमविद कँडेलले बताइन् । पूर्व र मध्यका थोरै र पश्चिमका एक–दुई स्थानमा ठूलो पानी पर्ने देखिएको छ ।

मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुन पूर्ण सक्रिय अवस्थामा छैन । तर बंगालको खाडीबाट जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभाव पनि रहेकाले बदली तथा वर्षा भएको हो ।

एक पटक बाढी आइसकेकाले अब छोटो अवधिको वर्षाले पनि नदीमा पानीको बहाव बढ्ने भएकोले सचेत रहनु पर्ने मौसमविदले बताएका छन् ।


हाल इलाम, झापा, मोरङ, सुनसरी, चितवन, पर्सासहित आसपासका जिल्लामा मध्यमदेखि भारी वर्षा भएकाले ती जिल्ला भइ बग्ने नदीहरु मेची, विरिङ, निन्दा, कन्काई, मावा रतुवा, लोहन्द्रा, चितवन माडीको रिउखोलासहितका अन्तय साना नदीमा आकश्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पूर्व र मध्यका थोरै स्थान र पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड र चुरेबाट बहने खोलमा जल सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउनु पर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्