विदेश भ्रमणका नाममा सरकारले गर्यो एक वर्षमा २९ करोड खर्च, सरकारी गाडी किन्न असारमा मात्रै ४५ करोड

काठमाडौं, साउन ५ । विदेश भ्रमणका नाममा सरकारले एक वर्षमा मात्रै २९ करोड खर्च गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारले एक वर्षमा झन्डै २९ करोड रुपैयाँ भ्रमण खर्च शीर्षकमा खर्च गरेको छ।


अर्थ मन्त्रालयले गत आर्थिक वर्ष २०७५र०७६ मा भ्रमण खर्च शीर्षकमा २८ करोड ७७ लाख ९२ हजार ६ सय ८० रुपैयाँ निकासी गरेको छ। अर्थ मन्त्रालयले गत आवमा साउन र असोज महिनामा भ्रमण खर्च शीर्षकमा रकम निकासी नगरे पनि अन्य १० महिनामा मासिक सरदर ३ करोड रुपैयाँको हाराहारीमा रकम निकासा गरेको छ।

यो रकम भ्रमणका लागि नियमित विनियोजन रकमभन्दा बाहेक अर्थ मन्त्रालयले भ्रमण खर्च शीर्षकमा निकासी गरेको रकम हो।

सरकारी गाडी किन्न असारमा मात्रै ४५ करोड

आर्थिक वर्ष २०७५र७६ को अन्तिम महिना असारमा मात्रै सरकारले सरकारी गाडी किन्न झण्डै साढे ४५ करोड रुपैयाँ खर्च गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार विभिन्न सरकारी निकायका लागि गाडी किन्न असार महिनामा ४५ करोड २४ लाख ५८ हजार रुपैयाँ रकमान्तर भएको छ । अर्थ मन्त्रालयका अनुसार गृह मन्त्रालय अन्तर्गतका निकायको लागि गाडी किन्न मात्रै १९ करोड ९ लाख रुपैयाँ रकमान्तर गरिएको छ । यस्तै राहदानी विभागको लागि गाडी किन्न ४४ लाख दिइएको छ ।

यसैगरी परराष्ट्र मन्त्रालयलाई १ करोड ७१ लाख ४० हजार, मधेशी आयोगका लागि १ करोड ८ लाख, कारागार कार्यालयको लागि २ करोड ४० लाख, कारागार व्यवस्थापन विभागको लागि गाडी किन्न ३९ लाख रुपैयाँ रकमान्तर गरिएको छ ।

यस्तै समावेशी आयोगको लागि गाडी किन्न ३ करोड १ लाख २० हजार, दलित आयोगको लागि २ करोड ६१ लाख ९० हजार, महान्यायाधिवक्ताको कार्यालयको लागि २ करोड ८२ लाख २२ हजार दिइएको छ ।

संघीय संसद सचिवालयको लागि गाडी किन्न ६ करोड २८ लाख, महालेखा नियन्त्रकको कार्यालयको लागि १ करोड ४१ लाख ७५ हजार, आदीवासी जनजाति आयोगको लागि २ करोड ८१ लाख ८२ हजार, आपूर्ति व्यवस्थापन विभागको लागि ५० लाख ५० हजार र राष्ट्रिय समाचार समितिलाई ४० लाख रुपैयाँ दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्