३ वर्षभित्र काठमाडौंमा मोनोरेल सञ्चालनमा आउने

काठमाडौं, साउन ३ । काठमाडौं महानगरपालिकाले आगामी ३ वर्ष भित्र मोनोरेल संचालनमा ल्याईसक्ने कार्ययोजना तय गरेको छ ।

काठमाडौं महानगरपालिकाले पारित गरेको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ३ वर्ष भित्र मोनोरेलको उचित व्यवस्था गरी संचालनमा ल्याउने उल्लेख गरिएको हो ।

काठमाडौं महानगरपालिकाको नगरसभाले हालै पारित गरेको ‘आर्थिक वर्ष २०७६र०७७ को नीति तथा कार्यक्रम’ बारे जानकारी दिन आईतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले फोहोरमैला व्यवस्थापन, बुद्ध पार्क निर्माण, मेघा हल निर्माण, बालाजु बाईसधाराको स्तरोन्नति, महानगर क्षेत्र भई बग्ने नदी सम्पदाहरुको सुदृढीकरण, पर्यटन पदमार्गको पनि उचित व्यवस्थापन गर्ने कार्यक्रम तय गरिएको बताए ।

त्यसैगरी काठमाडौं महानगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि विश्व सम्पदा सूचिमा रहेका हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपति क्षेत्रलाई पर्यटकीय हवको रुपमा विकास गर्न विशेष कार्यको थालनी पनि चालू आर्थिक वर्ष भित्रबाट सुरु गर्ने प्रतिवद्धता पनि जनाएको छ ।

प्रवक्ता डंगोलले प्राविधिक तथा व्यवसायिक शिक्षाको विस्तारका लागि आगामी २ वर्ष भित्र प्राविधिक विद्यालय सञ्चालन गर्ने योजना पनि नीति तथा कार्यक्रममा समावेश गरिएको बताए ।

ज्येष्ठ नागरिकहरुलाई उपचारको उचित व्यवस्था गर्न प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर ‘महानगर ज्येष्ठ नागरिक अस्पताल’ पनि संचालनमा ल्याउने महानगरपालिकाको योजना छ । त्यसका लागि आवश्यक बजेटको पनि व्यवस्था गरिएको प्रवक्ता डंगोलले बताए ।

महानगरपालिकाले सार्वजनिक जग्गाको अतिक्रमण नियन्त्रण गरी त्यसमा बाल मैत्री उद्यान, योगापार्क तथा ज्येष्ठ नागरिक मैत्री पार्कहरु र खुला क्षेत्रहरुको विकास गर्ने योजना पनि नीति तथा कार्यक्रममा समेटेको छ । त्यसैगरी सहरको मुख्यमुख्य चोकहरुमा ‘मेयर उज्यालो कार्यक्रम’ अन्तरगत हाईमास बत्ती जडान गर्ने कार्यक्रम पनि चालू आर्थिक वर्ष भित्र संचालनमा ल्याउने गरी तय गरिएको पनि प्रवक्ता डंगोलले बताए ।

यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि ‘भर्टिकल पार्किङ’ र ‘अण्डरग्राउन्ड पार्किङ’ को अवधारणा तय गरि कार्यान्वयनमा ल्याउन थालिएको छ । प्रवक्ता डंगोलका अनुसार त्यसका लागि पनि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

काठमाडौंको प्रदुषण नियन्त्रणका लागि साईकल लेनको व्यवस्था गर्ने, भेहिकल सफाई केन्द्रहरुको स्थापना गर्ने पनि महानगरपालिकाको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

प्रदुषण नियन्त्रणका लागि हरियाली प्रवद्र्धनको कामलाई पनि नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिइएको पनि काठमाडौं महानगरपालिकाले जनाएको छ ।

यी सबै कामका लागि लागि महानगरपालिकाले १५ अर्व ५० करोड ७० लाख १२ हजार बजेटको पनि व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्