नेपालगञ्ज–काठमाण्डौ उडान स्थगित , हजयात्री विमानस्थलमै अलपत्र

काठमाडौं, साउन ५ । नेपाल एयरलाइन्सको नेपालगञ्ज–काठमाण्डौ उडान स्थगित हुँदा हजयात्री नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका छन् ।

नेपाल एयरलाइन्सको शनिबार ११ स् ५० को नियमित उडानबाट काठमाण्डौ जानका लागि करीब २० दिनअघि टिकट लिएका हजयात्री नेपाल एयरलाइन्स विमानको उडान स्थगित हुँदा अलपत्र परेकोे हजयात्री मोहम्मद उमरले बताए ।

उनका अनुसार, घरबाट साइत गरी बिदावारी भएर काठमाण्डौ उडानका लागि नेपालगञ्ज विमानस्थल पुगेका हजयात्री बोर्डिङपास लिने बेलामा नेपाल एयरलाइन्सको विमानमा प्रविधिक समस्याका कारण उडान रद्द भएको जानकारी गराइएपछि अलपत्र परेका हुन् ।

उहाँले नेपाल एयरलाइन्सको विमान स्थगित हुँदा निजी विमानले सहुलियत दरको टिकट वितरण नगर्दा हजयात्री तीन गुणा बढी मूल्य तिर्न बाध्य भएको जानकारी गराए । हजयात्रीलाई आइतबार बिहान १० बजे केन्द्रीय हज समितिमा सम्पर्क राख्नका लागि बोलाइएको कारण बाँकेका हजयात्रीले शनिबार काठमाण्डौ जानको लागि गएको असार १६ गते नेपाल एयरलाइन्सको सिटी अफिस नेपालगञ्जबाट काठमाण्डौका लागि टिकट लिएका थिए ।

नेपाल एयरलाइन्स नेपालगञ्ज विमानस्थलका स्टेशन प्रमुख शङ्कर केसीले विमान विराटनगर उडान गरेको बेलामा प्रविधिक समस्या आएको कारण उडान रद्द गर्नुपरेको जानकारी दिए । उनले नेपाल एयरलाइन्सको विमान नआएपछि अन्य निजी विमानबाट जानका लागि हजयात्रीलाई सहजीकरण गरेको बताए ।

हजयात्रामा मक्कामदिना जान बाँकेबाट १६४ जनाले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत केन्द्रीय हज समितिमा आवेदन गरेकामा यस वर्ष मुस्लिम समुदायका १२३ जना छनोटमा परेका छन् ।

कोटा अभावका कारण यस वर्ष १२३ जनाले मात्र हज गर्न मक्कामदिना जान पाउने भएको केन्द्रीय हज समितिका सदस्य मेराज अहमद हलवाई हिमालयले बताए । उनका अनुसार, बाँकेका हजयात्रीको टोली साउन ७ गते त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट एयर अरेवियाको जहाजबाट साउदी अरबका लागि प्रस्थान गर्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्