बुद्धको देशमा हिंसा कदापि स्वीकार्य हुँदैन! हिंसा भड्काउँदैमा सरकार झुक्दैनः मन्त्री बास्कोटा

काठमाडौँ, साउन ४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बुद्धको देशमा हिंसा कदापि स्वीकार्य नहुने बताएका छन् । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको ४०औँ साधारणसभालाई आज बनेपामा सम्बोधन गर्दै उनले भने, बुद्धको देशमा हिंसा अस्वीकार्य छ । विभिन्न स्थानमा लुकेर जनतालाई आतङ्कित पार्ने ‘जङ्गली राज’ वर्तमान अवस्थामा चल्दैन ।

जसले हिंसा गर्छ अन्तिममा त्यही शिकार बन्ने उनको दाबी थियो । मन्त्री बाँस्कोटाले विभिन्न स्थानमा लुकेर जनतालाई आतङ्कित पार्ने ‘जङ्गली राज’ वर्तमान अवस्थामा नचल्ने बताए । उनले भने, यो प्रजातन्त्र हो, प्रजातन्त्रमा विचार चल्छ, बहस हुन्छ ।

खुला राजनीतिमा आएर राष्ट्रपतिसम्म बन्न सकिने अवस्थामा कसैले कसैलाई नरोकेको उनको भनाइ थियो । मन्त्री बाँस्कोटाले जनताका सामुन्ने हिंसा भड्काएर आतङ्क मच्चाउने, स्कूल र उद्योगीलाई दुःख दिने, स्थानीय निकायमा चन्दा आतङ्क मच्चाउनेजस्ता गतिविधि गलत भएको बास्कोटाले बताए ।

अब यस्ता गतिविधि चल्नेवाला छैन, यो देशका निम्ति घातक सावित हुनेछ, उनले भने । कसैले हिंसा भड्काउँदा सरकार झुक्ला भन्ने ठान्नु गलत हुने उल्लेख गर्दै सरकार कुनै पनि हालतमा कमजोर नहुने मन्त्री बाँस्कोटाले दाबी गरे । मुलुकलाई पुनः अस्थिरतातर्फ धकेल्ने नौटङ्की कसैले पनि नगर्दा हुन्छ, बास्कोटाको भनाइ थियो ।

बास्कोटाले उद्योगीहरूलाई सडकमा आउनु नपर्ने भन्दै छलफलबाटै समस्या समाधान हुने भरोसा दिलाए । देशमा आन्दोलन, झडप भैदिए आफ्नो स्वार्थ्सिद्ध गर्न खोज्ने एकथरि भए पनि तिनको चाहना पूरा नहुने उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्