भोजपुरमा पहिरोबाट १ सयभन्दा बढी घर परिवार विस्थापित, पालमा रात काट्न बाध्य

काठमाडौं, साउन ४ । गएको हप्ता परेको लगातारको वर्षाका कारण भोजपुरमा पहिरोबाट १ सय घर(परिवार विस्थापित भएका छन् ।

वर्षाका कारण पहिरोले घर जाखिममा परेपछि ती घर परिवार विस्थापित भएको विपद व्यवस्थापन समितिले जनाएको छ । विस्थापित भएकाहरु पाल तथा छिमेकीको घरमा रात काट्न बाध्य छन् ।

भोजपुर नगरपालिकाका १४ घर परिवार, ट्याम्केमैयुङ्ग गाउँपालिकाका २६, पौवादुङ्मा गाउँपालिकाका २, आम्चोक गाउँपालिकाका ४४, रामप्रसादराई गाउँपालिकाका ९, अरुण गाउँपालिकाका १, हतुवागढी गाउँपालिकाका ३ र साल्पासिलिछो गाउँपालिकाका १२ घर परिवार विस्थापित भएका हुन् । त्यस्तै जिल्लाका विभिन्न पालिकामा १६ घर पूर्ण रुपमा क्षति भएका छन् भने ५८ घरमा आंशिक क्षति पुगेको विपद व्यवस्थापन समितिलका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।

पहिरोले घर पुरिँदा रामप्रसाद राई गाउँपालिकामा ४ जना र टेम्केमैयुङ्ग गाउँपालिकामा १ गरी जम्मा ५ जनाको ज्यान गएको छ भने ३ जना घाइते छन् ।

पालिकाहरुलाई आ–आफ्नो क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरी पठाउन पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए । क्षतिको विवरण आउने क्रम अझै जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मृतकका परिवारलाई प्रति मृतक १ लाख रुपैयाँ दिने नेपाल सरकारले घोषणा गरेको छ । घाइतेलाई राज्यले निस्शुल्क औषधोपचारको व्यवस्था गरेको छ । त्यस्तै घर पूर्ण क्षति भएकालाई १० हजार र आंशिक क्षति भएकालाई ५ हजार रुपैयाँ राहतस्वरुप दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्