विप्लवले समातेको बाटो नै गलत छ ! अब हिंसाको बाटो छोड्नुपर्छ : ज्ञवाली
काठमाडौं, ३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले विप्लवले समातेको बाटो गलत भएको दाबि गरेका छन् ।
उनले भने,‘उहाँहरुले लिएका एजेण्डा बेठिक छन् । उहाँहरुका खास केही एजेण्डा नै छैनन् । त्यसैले तपाईहरु शान्तिपूर्ण रुपमा राजनीतिमा आउनुहोस् ।’ सरकारले विप्लवसँग अनौपचारिक छलफल गरिरहेकोले अब औपचारिक छलफल नै गर्नुपर्ने पनि उनले सुझाए विप्लव समूहले अब हिंसाको बाटो छोड्नु पर्ने बताउदै वार्तामा आउन पनि आग्रह गरे ।
शुक्रबार रिपोर्टर्स क्लब आयोजना गरिएको ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै ज्ञवालीले यस्तो बताएका हुन् ।
ज्ञवालीले नेपालले अब द्वन्द्व धान्न नसक्ने बताउँदै सरकार र विप्लवीच यथाशक्य चाँडो वार्ता हुनुपर्नेमा जोड दिए ।
साथै उनले नेपालको संविधान धेरै राम्रो भएको सुनाउँदै आवश्यक परे परिमाजर्न गर्न सकिने पनि धारणा व्यत्त गरे ।
अहिले तीन वटै केन्द्रमा नेकपाको सरकार रहेकोले अब मिलेर देश बनाउनुपर्नेमा जोड दिदै सरकार सञ्चालनमा कमिकमजोरी रहेको स्विकार्दै यसलाई सच्याउनुपर्ने उल्लेख गरे ।
साथै ज्ञवालीले सरकारले ल्याएको बजेट धेरै राम्रो रहेको सुनाउँदै यसलाई कार्यान्वयनमा लाग्नुपर्ने पनि बताए ।
उनले अहिले मुलुकमा हतियार उठाउनुपर्ने कुनै आवश्यक नरहेको जिकिर गदै जनताले हिंसा नचाहेर शान्तिको बाटो चाहेको बताए ।
प्रतिक्रिया दिनुहोस्