साझा यातायातले असोजभित्रै विद्युतीय बस सञ्चालन गर्ने

काठमाण्डौ , साउन ३ । साझा यातायात सहकारी संस्थाले सरकारको योजनानुसार आगामी असोजभित्रै विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।

बुधबार मात्रै संस्थाको तीन अर्ब रुपैयाँको शेयर सरकारले खरिद गरेपछि विद्युतीय बस सञ्चालनका लागि बाटो खुलेको हो ।

तीन सय बस खरिद गरेर काठमाण्डौ उपत्यकासहित देशभर बस सञ्चालन गर्ने योजना रहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले बताए । धेरैले ‘सरकारले निर्णय मात्रै गरेको काम नगरेको’ भनिरहँदा सरकार कार्यान्वयन गर्न लागिपरेको उनको भनाइ थियो । मन्त्रालयले बस खरीद र सञ्चालन संस्थामार्फत गर्न लागेको हो । उनले भने, ‘मन्त्रालयले यसमा समन्वयको काम गर्नेछ ।’

मन्त्रालयले विद्युतीय बसका लागि मापदण्ड बनाएको मन्त्री महासेठले जानकारी दिए । उनका अनुसार मन्त्रालयले संस्थालाई मापदण्ड पनि दिइसकेको छ । दुई सरकारबीच सम्झौता (जीटुजी) अनुसार वा खुला प्रतिस्पर्धाअनुसार सार्वजनिक खरिद प्रक्रियाबाट किन्ने उनले बताए । उनले भने, ‘अरु कुनै पनि खालको बाधा नआएमा असोजमै बस सञ्चालन सुरु गर्न सकिनेछ ।’

प्रतिक्रिया दिनुहोस्