अबदेखि निजामती कर्मचारीले एनजीओको तालिममा जान नपाउने, जुट्यो यस्तो सहमति

काठमाडौं, साउन २ । अबदेखि निजामती कर्मचारीहरुले एनजीओको तालिममा जान नपाउने भएका छन् ।


समितिमा निजामती कर्मचारीहरुले एनजीओको तालिममा जान नपाउने व्यवस्था गर्ने विषयमा पनि सहमति जुटेको छ ।

यस्तै निजामती कर्मचारीहरु अबदेखि कार्यक्षेत्र र सम्बन्धित सेवाको आधारमामात्र तालिमका लागि विदेश भ्रमणमा जान पाउने भएका छन् ।

प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सन्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा यस्तो सहमति भएको हो ।


कार्यक्षेत्रसँग सम्बन्धित कर्मचारीलेमात्र तालिम लिन विदेश जान पाउने व्यवस्था गर्न सहमति जुटेको हो ।

निजामती सेवामा एउटा सेवाको कर्मचारीले कागज गरेर अर्को सेवाको तालिम लिन जाने विकृति रहेको भन्दै सम्बन्धित सेवा र विषयको व्यक्तिलेमात्र तालिमका लागि जान पाउने व्यवस्था गर्न समितिमा सहमति जुटेको हो ।

सांसदहरुले तालिम कार्यक्षेत्रसँग सम्बन्धित दक्षता अभिवृद्धि र प्रभावकारी सेवा प्रवाहका लागि हुनुपर्नेमा जोड दिएका छन् ।

सांसदहरुले कर्मचारीलाई दिइने तालिम सेवा प्रवाह, सुशासन, नैतिकता र विकास निर्माणका लागि क्षमता अभिवृद्धिमा हुनुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले तालिमको प्रयोग निजामती कर्मचारीहरुले अनावश्यक ढंगले विदेश भ्रमणका लागि प्रयोग गरिरहेको भन्दै यस्तो विकृति हटाउनुपर्नेमा जोड दिएका छन् ।

यस्तै, अध्ययन भ्रमणका लागि जाने कर्मचारीलाई निश्चित अवधि तोक्ने विषयमा पनि समितिमा सहमति जुटेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्