बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमै बुद्धका मूर्ति तोडफोड, कारबाही गर्न माग
काठमाडौं, साउन २ । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमै बुद्धका मूर्ति तोडफोड भएका छन्। जन्मस्थल लुम्बिनीको प्रवेशद्वार तिलोत्तमा नगरपालिकाको सडक डिभाइडरमा राखिएका पाँचवटा मूर्ति तोडफोड गरिएको हो।
केही महिनाअघि मात्रै लुम्बिनी भ्रमण वर्षको अवसर पारेर नगरपालिकाले २० वटा बुद्धमूर्ति स्थापना गरेको थियो। तीमध्ये शंकरनगर क्षेत्रका ५ वटा मूर्ति तोडफोड गरिएको हो।
बुधबार साँझसम्म केही नभएका बुद्ध मूर्ति बिहिबार बिहान तोडफोड भएको अवस्थामा देखिएको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिए।
मूर्ति कसले किन तोडेको हो भन्नेबारे पत्ता लागेको छैन। घटनाको प्रहरी टोलीले अध्ययन सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
लुम्बिनीको झल्को दिन भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो। एउटा मूर्तिको तौल नै १ सय १० किलो छ।
लुम्बिनीको झल्को दिने गरी मुख्य सडकको बिचको डिभाइडरमा राखिएका मूर्ति कसले र किन तोडफोड गरे भन्ने प्रश्न अहिले गम्भिर बनेको छ भने यसमा ठूलै समूहको सहभागिता रहेको आशंका गरिएको छ।
मूर्तिमा भएको तोडफोडलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको छ। शान्तिका अग्रदूत महामानव गौतम बुद्धको मुर्ति तोडफोड गर्नेलाई पहिचान गरी कारबाही गर्नुपर्ने माग सहित सामाजिक सञ्जालमा चर्को आवाज उठेको छ।
यसैबचि नेपाली कांग्रेसले भगवान् गौतमबुद्धको मूर्ति तोडफोड गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेस संसदीय दलले बिहीबार एक विज्ञप्ति निकाली घटनाको सत्यतथ्य छानबिन र त्यसमा संलग्न दोषीलाई कानुनी कारबाही गर्न मागसमेत गरेको छ ।
बुधबार राति रुपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत् सिद्धार्थ राजमागको बीच भागमा राखिएका बुद्धका मूर्तिहरु तोडफोड गरिएकोप्रति कांग्रेसले आपत्ति जनाएको हो ।
‘भगवान् गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्य–मान्यताको अपमान हो’–विज्ञप्तिमा भनिएको छ–‘यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजितरुपमा बुद्धको मूर्तिलाई तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय एवं घोर आपत्तिजनक छ ।’














प्रतिक्रिया दिनुहोस्