ढुवानी साधनको अनुगमन अब अनलाईन प्रणालीबाटै, अर्थमन्त्रीले गरे शुभारम्भ
काठमाडौं, साउन १ । सरकारले ढुवानी साधनको अनुगमन अनलाईन प्रणालीबाट सुरु गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार मालवस्तु तथा ढुवानी साधनको अनलाइन अनुगमन प्रणालीको शुभारम्भ गरेका हुन् ।
अर्थमन्त्री खतिवडाले अपारदर्शी एवं अनौपचारिक व्यवसायलाई पारदर्शी र औपचारिक व्यवसायमा रुपान्तरण गर्न खोजिएको बताए ।
उनले प्रविधिको प्रयोगले ५० प्रतिशत अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रम रुपान्तरणको एउटा प्रयासमा यो प्रणालीको कार्यान्वयन भएको बताए ।
निजी क्षेत्रले पनि प्रणालीको स्वागत गर्दै यसलाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिएको छ । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले प्रणालीबारे स्थानीय तहका व्यवसायीमा अन्यौल रहेको बताइन् । उनले तीन महिनाको प्रोभिजनल समय अपुग हुने बताइन् ।
उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले यो प्रणाली विकासको चरणमा एक पाइला अढि बढेको भन्दै स्वागत गरे । उनले यो प्रणालीले ढुवानीलाई सहज एवं सुरक्षित बनाउने भए पनि देशैभर एकैपटक लागू गर्न नसकिने हो कि भन्ने आशंका गरे ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले यो प्रणाली स्थानीय ढुवानीमा भने उपयुक्त हुन नसक्ने भन्दै शंका व्यक्त गरे ।
राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले प्रणालीको प्रयोग गर्न कुनै शुल्क नलाग्ने, सहज एवं विश्वासिलो रहेको बताए । स्थानीय व्यवसायीलाई निजी क्षेत्रसँग मिलेर यो प्रणालीबारे अवगत गराउन लागि पर्ने उनको भनाइ छ ।
महानिर्देशक मैनालीले हालसम्म यो प्रणालीका लागि ५ हजार जनाले युजर आईडी बनाईसकेको पनि जानकारी दिए । राजश्व अनुसन्धान विभागले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्राको आयोजना गरि प्रणालीको शुभारम्भ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्