असुरक्षा भएको भन्दै काम छाडेर धनगडी पुगेका डडेल्धुराका चिकित्सक काममा फर्किए
काठमाडौं, असार ३१ । कार्यक्षेत्र छाडेर धनगढी पुगेका डडेल्धुराका चिकित्सक ५ दिनपछि काममा फर्किएका छन् ।
उनीहरुलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आश्वासन दिएपछि काममा फर्किएका हुन् ।
असुरक्षा भएको भन्दै काम छाडेर उनीहरु धनगडी पुगेका थिए । अस्पताल र चिकित्सकमाथि आक्रमण भएको भन्दै उनीहरुले काम छाडेका थिए । तर अहिले सुरक्षाको लागि जिल्ला अस्पतालमा सुरक्षाकर्मी परिचालित गरिएको छ ।
जिल्ला अस्पतालमा २२ जना प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।
कार्यक्षेत्र छाडेर धनगढी पुगेका जिल्ला अस्पतालका चिकित्सक सोमबार साँझ जिल्ला सदरमुकाम फर्किएका थिए भने मंगलबारदेखि विरामी जाँच सुरु गरेका हुन् ।
अस्पतालमा पोस्टमार्टम गरिरहेका चिकित्सकमाथि हातपात भएपछि त्यहाँ कार्यरत १० जना चिकित्सकले शुक्रबारदेखि जिल्ला छाडेका थिए । प्रहरीले चिकित्सकमाथि हातपात गर्ने मध्येका एक जनालाई पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि चिकित्सकलाई सुरक्षा दिने प्रतिबद्धता जनाएपछि काममा फर्किएको अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्