सभामुखलाई कसैले तर्साएर होला बैठक स्थगित गर्नुभयोः देउवा

जागरण न्युज
काठमाडौं, ३० असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोबाट जनधनको क्षति भएका बेला संसद स्थगित गरेको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभा बैठकमा भाग लिन सोमबार संसद पुगेका देउवाले संसद बैठक स्थगित भएपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै विपदका बेला झन् बढी छलफल गर्नुपर्नेमा संसद स्थगित गरेकोमा आपत्ति जनाएका हुन् ।

‘बाढीपहिरो, डुबानले राष्ट्रलाई क्षति भएका बेला संसद स्थगित गर्ने?,’ देउवाले प्रश्न गरे, ‘हामीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थियौं विपदबारे छलफल गर्न । सबै मिलेर छलफल गरी अघि बढ्नुपर्ने बेला संसद स्थगित गरिदिने?’

संसद स्थगित गरेकोमा सभापति देउवाले सभामुख महराको भूमिकाप्रति पनि प्रश्न उठाएका छन् ।
‘सभामुखले पहिले बैठक चल्छ भन्नुभएको हो । पछि कसैले तर्सायो होला डराउनुभयो,’ देउवाले भने, ‘विपदको समाधान गर्न व्यापक छलफल गरेर सँगसँगै सबै मिलेर जाऔं भन्ने हाम्रो प्रस्ताव थियो ।’ आफ्नो पार्र्टीका कार्यकर्तालाई पीडितको उद्धार र राहतका खट्न निर्देशन दिएका देउवाले संसदमा छलफल गरी सबै ऐक्यवद्ध भएर बाढीपीडितका पक्षमा लाग्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्