बाढीपहिरो अपडेटः मृत्यु हुनेको संख्या ६० पुग्यो,३८ घाइते , २६ बेपत्ता

काठमाडौं, असार २९ । अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म ६० जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार २४ महिला र ३६ पुरूषको मृत्यु भएको हो।

बाढीपहिरोमा परी ३८ जना घाइते छन्। २६ जना बेपत्ता छन्। एक हजार चार सय ४४ जनाको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ ।

यसैबिच गृहमन्त्री रामबहादुर थापाले बाढीपहिरो प्रभावितको उद्धार तथा राहतको काम तीव्र रुपले अगाडी बढीरहेको बताएका छन् । मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरो प्रभावितको उद्धार तथा राहत कार्य तीव्र रुपले भईरहेको उनले बताए ।

आइतबार राज्य व्यवस्था समितिको बैठकमा सांसदहरुले बाढी प्रभावितहरुको उद्धार तथा राहत कार्यबारे जिज्ञासा राखेपछि गृहमन्त्री थापाले सम्पूर्ण स्रोत परिचालन गरी उद्धार तथा राहतका काम भइरहेको जानकारी दिएका हुन् ।

उनले प्रभावितहरुको उद्धारको लागि तीनवटै सुरक्षा निकाय परिचालन भएको तथा हवाई, स्थल र जल मार्गबाट उद्धारको जारी रहेको बताए । उनले प्रभावित र थप खतरामा रहेको क्षेत्रमा पूर्वसूचना प्रणाली सक्रिय बनाइएको, सामाजिक सञ्जाल र एसएमएसबाट जोखिमबारे जानकारी गराउने काम भइरहेको बताए ।

गृहमन्त्री थापाले सर्लाही र रौतहटमा पानीको निकासका लागि विभिन्न उपाय अपनाइएकाले विस्तारै पानीको सतह घट्दै जाने बताए । उनले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक सामाग्री पठाईसकिएको जानकारीसमेत दिए ।

राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाहरुलाई जिल्ला दैवीप्रकोप समन्व्य समिति र स्थानीय समितिसँग समन्वय गरेर राहत वितरण गर्न निर्देशन दिइएको गृहमन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्