बाढीको कहरः प्रभावित क्षेत्रमा तत्काल औषधिसहित स्वास्थ्यकर्मीको टोली खटाउन निर्देशन

काठमाडौँ, असार २९ । संसदको राज्य व्यवस्था समितिले बाढी तथा डुबान प्रभावित क्षेत्रमा तत्काल औषधिसहितको स्वास्थ्यकर्मीको टोली खटाउन सरकारलाई निर्देशन दिएको छ ।

बाढी प्रभावित क्षेत्रमा सरुवा रोगको प्रकोप फैलिने तर्फ सजग गराउँदै समितिले तत्काल औषधिसहित स्वासथ्यकर्मीको टोली खटाउन निर्देशन दिएको हो ।

समितिले आइतबार गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव प्रेम राई, प्रहरी प्रमुख सर्वेन्द्र खनाललगायतलाई बोलाएर छलफल गरेको हो ।

प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाउन, राहत र उद्धारको कार्यलाई अझै प्रभावकारी बनाउन, विस्थापितलाई पुर्नस्थापित गर्न र घाइतेको प्रभावकारी उपचार गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।

समितिले राहत र उद्धारमा सुरक्षा निकायहरुले प्रभावकारी भूमिका देखाएकोले प्रसंसा गर्ने निर्णय पनि गरेको छ । समिति बैठकमा बोल्दै गृहमन्त्री थापाले अहिलेको प्रकोप प्राकृतिक भन्दा पनि मानव निर्मित बढी भएको बताए ।

जथाभावी विकास गर्ने, डाँडापाखा भत्काउने, खोलानाला थुनेर घर बनाउने प्रबृत्तिले क्षति बढी गरेको उनको भनाई थियो । विश्वव्यापाी रुपमा बढेको तापक्रम बृद्धिको असर पनि यसमा देखिएको गृहमन्त्री थापाले बताए ।

यसका साथै उनले प्रकोपपछिको राहत र उद्धारमा सरकारी संयन्त्र लागिपरेको बताए । ‘ पूर्व तयारीको सवालमा सरकारले ध्यान दिएको छ । अपुग भएको सत्य हो । आगामी दिनमा हामी सच्याएर अगाडि बढ्नेछौँ, विपद् व्यवस्थापन प्राधिकरण सरकारले तुरन्त गठन गर्नेछ’, गृहमन्त्रीले बैठकमा भने ।

बैठकमा सांसदहरु झपट रावल, रेखा शर्मा, यशोदा सुवेदी लगायतले प्रकोपको दृघकालिन समाधान खोजिनुपर्ने बताएका थिए । उनीहरुले भारतीय बाँधहरुबारे पनि कुटनीतिक दृघकालिन समाधान खोजिनुपर्ने बताए ।

साथै बाढी तथा पहिरोको क्षेत्रमा उद्दारका लागि खट्न पनि सबैलाई आग्रह गरिएको छ ।

यसैबिच यता उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिका– ६ स्थित दनुवार बेँसीको तीनटाट्नेमा शनिबार दिउँसो आएको पहिरोले थुनिएको बैद्यनाथ खोला आइतबार बिहान फुटेको छ।

शनिबार दिउँसो तीनटाट्नेको पाखाबाट खसेको पहिरोले बैद्यनाथ खोला थुनिएपछि खोलाको बहाव बढ्दै गएर ताल बन्दै गइरहेको बेला आज बिहान उक्त ताल आफै फुटेको र अहिले तीनटाट्ने, गोटिया, बकपती, सोमबारे र कटारीको रिस्कु क्षेत्रका स्थान खोलाको डुबानको कारण स्थानीयवासीलाई अन्यत्र सारिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्