उद्धार र राहतलाई थप प्रभावकारी बनाउने सरकारको निर्णय

काठमाडौं, असार २८ । सरकारको विपद् व्यवस्थापन केन्द्रीय कार्यकारी समितिको बैठकले राहत तथा उद्धारकार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

शनिबार गृह मन्त्रालयमा बसेको बैठकले आवश्यकताअनुसार राज्यका सबै अंग परिचालन गरी विपद् जोखिम न्यूनीकरण र उद्धारमा थप क्रियाशील भएर लाग्ने निर्णय गरेको हो ।

बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा अधिकारीहरुको सहभागिता थियो ।

उक्त बैठकले आवश्यक स्थानमा हेलिकोप्टर प्रयोग गर्दै अवरुद्ध राजमार्गहरु तत्काल खुलाउने, खानेपानी र खाद्यान्नको व्यवस्थापनमा सबै निकाय चुस्त भएर लाग्ने निर्णयसमेत गरेको छ ।

बाढी र पहिरोबाट उत्पन्न समस्या समाधान गर्दै दैनिक जीवनयापन सहज बनाउन थप क्रियाशील हुन बैठकले स्थानीय तहलाई निर्देशनसमेत दिएको छ ।

रोगव्याधी फैलन नदिन तत्कालै स्वास्थ्यकर्मी परिचालनका साथै क्षति रहेका सडक, पोललगायत भौतिक संरचना तत्काल निर्माण गरी सन्चालनमा ल्याउने तथा घर, कार्यालयलगायत अन्य संरचना निर्माणका लागि योजना बनाएर अघि बढ्नेसमेत बैठकले निर्णय गरेको छ ।

बैठकमा बोल्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले राहतको कामलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको भन्दै विपद्सम्बन्धी गतिशील किसिमको स्थायी संरचना आवश्यक भएको बताए ।

उनले विपद्को क्षतिबारे एकद्धार प्रणालीबाट जानकारी दिने व्यवस्था मिलाउनसमेत आग्रह गरे ।

गृहमन्त्री थापाले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गरिएको जानकारी दिँदै घटनालगत्तै जोखिम न्यूनीकरण, उद्धार तथा राहतमा सबै संयन्त्रहरु परिचालन भएको जानकारी गराए ।

उनले लगातारको वर्षाका कारण शुक्रबार हेलिकोप्टर उडान गर्न समस्या भएको जानकारी दिँदै शनिबार आवश्यकताअनुसार प्रयोग गरिएको तथा पर्याप्त डुंगा नहुँदा उद्धारमा केही कठिनाइ उत्पन्न भएको बताए ।

उनले एकद्धार प्रणालीमार्फत् राहत वितरणको व्यवस्था मिलाउन लागिएकोसमेत जानकारी दिएका थिए ।

गृहमन्त्री थापाको अध्यक्षतामा बसेको समितिको बैठकबारे जानकारी दिँदै गृहसचिव प्रेमकुमार राईले अहिलेसम्म भए गरेका काम र घटनाका विषयमा समीक्षा भएको जानकारी दिँदै राहत र उद्धारकार्यलाई थप तीव्रता दिने विषयमा छलफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्