भारतीय बाँधका कारण गौर डुब्यो, नेपाली नागरिक भने रुष्ट

काठमाडौं, असार २८ । दशगजामा रहेका भारतीय बाँधका ढोका भारतीय पक्षले नखोलेपछि रौतहट सदरमुकाम गौरसहित अधिकांश ठाउँ डुबानमा परेका छन् ।

दशगजामा लालबकैया र बाग्मती नदीलाई जोडेर बनाएको बाँध भत्केपछि भने पानीको सतह केही मात्रामा घटेको छ । दशगजामा भारतीय पक्षले बनाएको बाँध पानीको बेगले भत्काएको हो ।

बाँध वरपर भारतीय सीमा सुरक्षा बल(एसएसबी) ले ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको छ । भारतीय पक्षले भत्किएका बाँधहरु मर्मत गर्न थालेको छ ।

रौतहटको सदरमुकाम गौरमा घरको एक तलासम्म पानी भरिएको छ । गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयको एक तला पूरै पानीमा डुबेको छ । त्यस्तै गौरमा रहेका सरकारी कार्यालयहरु पनि पानीमा डुबेका छन् ।
भारतले विपदका बेला पनि बाँध नखोलेकोमा नेपाली नागरिक भने रुष्ट बनेका छन् ।

यसैबिच केही दिनदेखि परेको अविरल झरीका कारण सप्तकोशी नदीमा पानीको सतह खतराभन्दा माथि पुगेको छ ।

शनिबार बिहानको मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव २ लाख ४६ हजार ८ सय ३३ क्युसेक प्रतिसेकेण्ड मापन गरिएको छ । यो यस वर्षकै अत्याधिक हो मापन हो ।

सप्तकोशीमा पानीको सतह खतराभन्दा माथि गएपछि कोशी ब्यारेजका ३३ ओटा ढोका खुला गरिएको छ । पानीको बहाव बढ्ने क्रम निरन्तर भएकाले आवश्यकता अनुसार थप ढोका खोल्न सकिने स्थानीय प्रशासनले जानकारी दिएको छ । पानीको बहाव उच्च भएपछि सप्तकोशी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।

सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । सप्तकोशीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक पुगेपछि रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्