प्रदेश २ को ८० प्रतिशत भूभाग डुबानमा, २५ सय प्रहरी परिचालन, संघीय सरकारसँग हेलिकोप्टर माग

काठमाडौं, असार २८ । चार दिनदेखिको अविरल वर्षाले देशभरको जनजिवन प्रभावित भएको छ । देशका विभिन्न स्थान बाढलिे जमग्न रहेका छन् । कयौ वस्ती डुवानमा परेका छन् ।

यस विपद्मा सरकार भने असफल भएको छ । नेपाल बाढी पहिरोजन्य विपद् जोखिमको दृष्टिमा ३० औं, जलवायु परिर्वतनजन्य विपद् जोखिममा चौथो, भूकम्पीय जोखिमका दृष्टिले ११ औं र बहुप्रकोपिय विपद् जोखिमका दृष्टिले २० औं स्थानमा पर्छ ।

कोरिडोर सडकका नाममा नदीलाई साँघुरो बनाउने, नदी खोला मिचेर बस्ती आवास गृह बनाउने, अव्यस्थित शहर विस्तार तथा प्लानिङका नाममा निकास विनाका संरचना निर्माण लगायत कारण ले पनि डुबानको समस्या बढाएको छ ।

शुक्रबार साँझदेखिको अविरल वर्षाले मुलुकभरको जनजीवन अस्तव्यस्त बनाएको छ ।

वर्षाले गर्दा प्रदेश २ को लगभग ८० प्रतिशत भूभाग डुबानमा परेको छ ।

नेपाल प्रहरी प्रदेश २ का प्रवक्ता डिएसपी ज्ञानकुमार महतोका अनुसार लगातारको वर्षाले प्रदेश २ को ८० प्रतिशत भूभागमा पानी जमेको छ। वर्षाले सबभन्दा बढी रौतहट जिल्ला प्रभावित छ। त्यहाँका अधिकांश बस्ती डुबानमा छन्। चन्द्रनगर र गरुडाको प्रहरी चौकीबाहेक सुरक्षा निकायका सबै कार्यालय डुबानको मारमा छन्।

पानी परिरहेकाले प्रदेश २ को ठूला खोला कमला, बागमती, बकैया, रातुमा पानीको जलस्तर बढेको छ। कमला सिँचाइ आयोजनाका प्रमुख मनोहर साहले दिएको जानकारी अनुसार रातिको ठूलो पानीले कमला खोलाको डेफ्थ बैंक ड्यामसमेत भत्काएको छ र कमलाको पानी तटबन्ध माथिबाट बग्न थालेको छ।

यसैबीच धनुषा र सिरहाको सिमाना भएर बग्ने कमला नदी क्षेत्रमा बाढीमा फसेका ९ जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ। कमला खोलामा आएको बाढीको कारण धनुषाको सहिदनगर नगरपालिकामा दुई दिनदेखि अलपत्र परेका ५ जनालाई सशस्त्र प्रहरीले डुंगाबाट उद्धार गरेको छ। उद्धार गरिएका ५ जना मध्ये ४ पुरुष र १ महिला छन्।

सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी राजु अर्यालले बाढीमा फसेका र डुबानले अलपत्र परेकाहरुको उद्धारलाई प्राथमिकता दिइएको बताए। उनले भने, ‘उच्च जोखिम क्षेत्रमा प्रहरीको संख्या थपिएको छ।’

यसैगरि डिआइजी अर्यालले ‘उद्धार र पुनर्स्थापनाका लागि २५ सय सशस्त्र प्रहरी परिचालन गरिएको जनाए। उनका अनुसार कमला नगरपालिकामा बाढीमा फसेका थप ४ जनालाई शनिबार बिहान सुरक्षित ठाउँमा सारिएको छ।

प्रदेश २ को सरकारले बाढी र डुबान क्षेत्रको अवलोकन र फसेकाहरुको उद्धारका लागि संघीय सरकारसँग हेलिकोप्टर उपलब्ध गराउन माग गरेको छ। मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रधानमन्त्री कार्यालयसँग हेलिकोप्टरको बन्दोबस्त मिलाइदिन आग्रह गरेको बताए।

‘उद्धार र राहतलाई प्राथमिकतामा राखेका छौं,’ मुख्यमन्त्री राउतले भने, ‘अन्य सबै बन्दोबस्त मिलाउन आन्तरिक मामिला मन्त्रालयलाई निर्देशन दिइएको छ।’

प्रदेश सरकारले मृतक परिवारलाई ३ लाख, राहत तथा उद्धारको लागि प्रत्येक जिल्ला लाई १०र१० लाख उपलब्ध गराउने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्