पर्सामा वर्षाको कहर : वीरगन्ज पुरै जलमग्न, ग्रामिण क्षेत्रमा पनि उस्तै सकस
काठमाडौं, असार २८ । चार दिनदेखि लगातार परिरहेको अविरल वर्षाका कारण पर्साको सदरमुकाम वीरगन्जका साथै ग्रामीण भेगका गाँउहरु समेत डुबानमा परेका छन् ।
वर्षाका कारण सिर्सिया नदीमा आएको बाढीले वीरगंज महानगरको रानीघाट , श्रीपुर , रामगढवा , आदर्शनगर लगायतका क्षेत्रहरु जलमग्न हुनुका साथै घरहरुमा पानी पसेको छ ।
यस्तै ग्रामीण क्षेत्रका नदी र खोलाहरूमा पानीको सतह बढेर , गाउँबस्ती डुबानमा परेका छन् । नदी र खोलाको बाढीले केही स्थानमा खेतीयोग्य जमीन समेत कटान गरेको छ ।
केही गाउँमा बाढीले फुसका घर भत्किएका छन् । पर्सामा रहेका ओरिया, सिक्टा, गङ्गोल, तिलावे नदीमा आएको बाढीले खेतीयोग्य जमीन र मानवबस्तीमा क्षति पुरयाएको स्थानीयले बताएका छन् ।
जानकीटोलमा रहेको ओरिया नदीको पानीको सतह बढेर बाढी पस्दा दसौता गाउँ डुबानमा परेको छ । यसैगरी पर्साकै भिस्वा, मुडली, लङ्गडी , धोबिनी, आशवारी, गुलरिया, जयमङ्गलापुर, सबैठवा, धोरे, हस्वा, मसिहानी, प्रसौनीभाटा, अमरपट्टि, गर्दौललगायतका अधिकांश गाउँ पनि डुबानमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्