जन्मिएको ४ घण्टामै अस्पतालबाट शिशु गायब!
काठमाडौं, असार २८ । लुम्बिनी मेडिकल कलेज प्रभासमा शुक्रबार मध्याह्नमा जन्मिएको शिशु दिउँसो ३ बजे अस्पताल परिसरबाटै हराएको छ ।
तानसेन नगरपालिका–९ बस्ने २२ वर्षीया जमुना रानाले जन्माएको शिशु केही घण्टामै हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए । सुत्केरी जमुनाको रेखदेख गर्न साथमा उनकी आमा अस्पतालमा आएकी थिइन् ।
अर्धचेत अवस्थामा रहेकी जमुनालाई झोलिलो खानेकुरा लिन उनकी आमा नवजात शिशु बोकेरै क्यान्टिनमा पुगेकी थिइन् ।
उनीसँगै एकजना अपरिचित महिला सहयोग गर्ने बाहनामा सँगै गएको उनकी आमाको भनाइ छ । अपरिचित महिलाले शिशु आफूले अस्पतालको कक्षमा ल्याइदिने बाहना गरी ज्वानोको झोल जमुनाकी आमालाई लैजान पठाएको बताइएको छ ।
छोरीसँग पुगेको केही समयसम्म अपरिचित महिलाले शिशु लिएर नगएपछि खोजी कार्य भएको हो । सो घटनाबारे अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्