सप्तकोशी र कमला नदीको बहावले सतर्कता तह पार गर्यो , सुरक्षित ठाउँमा बस्न आग्रह
काठमाण्डौ , असार २८ । बाढी पूर्वानुमान महाशाखाले चतरामा सप्तकोशी नदीले शनिबार बिहान सतर्कता तह पार गरेको जानकारी दिएको छ ।
साथै नदीमा पानीको बहाव अझै बढ्दै गएकाले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा शनिबार बेलुकीसम्म नै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै कमला नदी–धनुषा–तितरिया बाढी मापन केन्द्रमा जलसतह खतरा तहभन्दा ज्यादै माथि पुगेको र पानी पर्ने क्रम जारी रहेकाले धनुषा र सिरहाका तटीय क्षेत्रमा रहने नागरिकलाई सुरक्षित ठाउँमा जान महाशाखाले अनुरोध गरेको छ ।
धनुषा र सिरहाका नदी तटीय क्षेत्रमा शनिबार दिनभर नै बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।
यसैबीच शनिबार पनि देशका धेरै ठाउँमा हुरीबताससहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।
मनसुनी न्यूनचापिय रेखामा न्यूनचापिय क्षेत्र पनि मिसिएपछि बिहीबार रातिदेखि नै मध्य र पूर्वका धेरै ठाउँमा हुरीबताससहित निकै ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार यो प्रणाली पश्चिमसम्म नै फैलिएकाले शनिबार पश्चिमी तराईमा पनि ठूलो पानी पर्ने सम्भावना छ ।
शनिबार भने लगातार झरी भने नपर्ने उहाँको अनुमान छ । तर पनि धेरै ठूलो पानी पर्ने देखिएकाले पूर्व र मध्य क्षेत्रका पहाडी भेगमा पहिरो खस्ने तथा मध्य, पूर्व र पश्चिमको तराई क्षेत्रका नदीमा ठूलो बाढी आउँने भएकाले सजग भने हुनुपर्ने मौसमविद् श्रेष्ठको भनाइ छ ।
यस्तै हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिबिलिटिका कारण अवरोध आउने सक्ने भएकोले उच्च सतर्कता अपनाउनु उनको सुझाव छ । झरी नपरे पनि सोमबारसम्म नै केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उनले बताए ।
गएको २४ घण्टामा सिमरामा ३ सय ११ दशमलव ९ मिलिमिटर, जनकपुरमा २ सय ४५ दशमलव २ मिलिमिटर, धरानमा १ सय ५५ मिलिमिटर, काठमाण्डूमा १ सय १५ दशमलव २ मिलिमिटर र ओखलढुंगामा १ सय १ दशमलव ३ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्