मनसुन अति सक्रिय, देशभर लगातारको वर्षा जारीः हवाई र सडक यातायातमा अवरोध पर्ने सम्भावना

काठमाडौँ , असार २८ । देशका अधिकांश स्थानमा मनसुनी वर्षा शनिबार बिहान पनि जारी रहेको जल तथा मौसम पूर्वानमान महाशाखाले जनाएको छ ।

मनसुन न्यून चापीय रेखा मध्य र पूर्वी नेपालको तराई तथा पश्चिम नेपालको पहाडी क्षेत्रमा रहेको मौसमविदले बताएका छन् ।

यस्तै मध्य र पूर्वी नेपाल नजिकै न्यून चापीय क्षेत्र समेत रहेकाले मनसुन शनिबार पनि अति सक्रिय अवस्थामा रहने देखिएको मौसमविदले जानकारी दिएका छन् ।

शनिबार दिनभर देशभर वर्षा जारी रहने छ । पूर्व र मध्यका तराई र पहाडी क्षेत्रका केही स्थान र पश्चिमको तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना छ । वर्षाको क्रम शनिबार राति पनि जारी रहने देखिएको छ । आउँदो सोमबारसम्म बदली तथा वर्षाको सम्भावना रहेको जनाइएको छ ।

लगातार पानी पर्ने भएकाले देशका साना तथा ठूला खोला तथा नदीमा पानीको सतह बढ्ने भएकाले सचेत रहन अग्रह गरिएको छ । नदी आसपासका क्षेत्रमा बाढी, डुबान तथा कटानको सम्भावना रहेकाले सजग हुन भनिएको छ ।

पहाडी क्षेत्रमा पहिरो जान सक्ने तथा तराई क्षेत्रका नदीहरुमा जलको बहाव र स्तर बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनु पर्ने सुझाव मौसमविदले दिएका छन् ।

यस्तै हवाई र सडक यातायातमा पनि वर्षा तथा कम भिजिविलिटिका कारण अवरोध पर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्