बाढी पहिरोमा परी अहिलेसम्म ८ जनाको मृत्यु , ४ बेपत्ता, दर्जन बढी घाइते

काठमाडौं , असार २७ । अविरल वर्षाका कारण गएको बाढी र पहिरोमा परी अहिलेसम्म८ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् भने दर्जन बढी घाइते भएका छन् ।

बिहीबार रातिदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण हालसम्म काभ्रेपलाञ्चोक, भोजपुर, रामेछाप र ललितपुरमा गरी ८ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, बनेपा–३, नालामा घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् । उनीहरु भूकम्पपीडित हुन् । सो घटनामा बुहारी ३० वर्षीया सुशीला र तीन महिने नातिनी अनुश्का घाइते छन् ।

भोजपुरमा पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई छन् । यस्तै, टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको छ ।

रामेछापमा पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको छ ।

खोटाङमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता रहेका छन् भने एक जना घाइते भएका छन् । विभिन्न ठाउँमा पहिरो जादाँ यातायात सेवा अवरुद्ध भएको छ भने यात्रुलाई सास्ती भएको छ ।

प्रतिक्रिया दिनुहोस्