बनेपामा पहिरोले घर भत्कँदा दुई जनाको मृत्यु, घर जलमग्न, खोटाङमा आमा र दुई नाबालक छोरा बेपत्ता
काठमाडौं, असार २७ । काभ्रेको बनेपा नगरपालिका–३ चुनातालमा पहिरोले घर भत्कँदा दुई जनाको मृत्यु भएको छ ।
अविरल वर्षाका कारण रामप्रसाद दंगालको घर माथिबाट आएको पहिरोले घर भत्किँदा उहाँकी श्रीमती गोमा दंगाल र नातिनी ७ वर्षीया सुहावी दंगालको मृत्यु भएको हो ।
घर भत्किँदा रामप्रसादकी बुहारी सुशीला र ३ महिनाकी नातिनी अनुष्का घाइते भएकी छन् । उनीहरुको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै चौरी देउराली–४ छेडामा गएको पहिरोले दिपक गौतम, धनप्रसाद तिमल्सिना र रामप्रसाद चौलागाईंको घर पुरिएको छ ।
यता, मंगलटार, कटुन्जेलगायतका ४ स्थानमा झरेको पहिरोका कारण यातायात सेवा ठप्प भएको छ ।
यसैगरी अबिरल बर्षाका कारण काभ्रेको वनेपासहितका ग्रामीण बस्ती डुवानमा परेका छन् । बनेपा बजार जलमग्न हुँदा यातायात सञ्चालनमा समस्या भएको छ ।
काभ्रेको पनौती–ढुंगखर्क यातायात, बिपी राजमार्ग, काभ्रेको कोशीपारी चल्ने यातायात, महाभारत, खानिखोलालगायतको स्थानमा यातायातको सेवा अबरुद्ध भएको छ । बर्षाका कारण रोशी खोला, भोटेकोशी तथा इन्द्रवती नदीमा बाढी आएको छ ।
उता खोटाङमा पहिरोले घर पुरिँदा आमा र दुई नाबालक छोरा बेपत्ता भएका छन् ।पहिरोले घर पुरिँदा खोटेहाङ गाउँपालिका(२ वाप्लुखा बाघपच्याङमा आमा र दुई नाबालक छोरा बेपत्ता भएका छन् । वर्षापछि आएको पहिरोका कारण विष्णु राईको घर पुरिँदा उहाँकी श्रीमती रेखा राई र दुई नाबालक छोरा बेपत्ता भएका हुन् ।
शुक्रबार बिहान झण्डै तीनरचार सय मिटर माथिबाट झरेको पहिरोले घर पुरिँदा आमा र दुई छोरा बेपत्ता भएको वडाध्यक्ष दिपेन राईले बताउनुभयो । पहिरोमा भागेर ज्यान जोगाएका विष्णुको पनि हातखुट्टामा चोट लागेको छ ।
बेपत्ता भएका आमा र दुई जना बालकको उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेब गौतमले बताए ।
प्रतिक्रिया दिनुहोस्