आज पनि भारी वर्षा हुने, सतर्क रहन चेतावनी, मौसमविद्को सुझावः जीउ र बीउ जोगाउनुहोस्

काठमाडौँ , असार २६ । देशका अधिकांश स्थानमा शुक्रबार पनि ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली हुने मौसमविदले बताएका छन् ।

देशका पश्चिमी भूभागका केही स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशका थोरै स्थानहरुमा भारी वर्षा र एक दुई स्थानहरुमा अति भारि वर्षाको संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

शुक्रबार राति पनि पूर्ण बदलीको सम्भावना रहेकोले पानी पर्न नरोकिने महाशाखाले जनाएको छ । लगातारको वर्षाका कारण विभिन्न जिल्लाका नदी आसपासका क्षेत्रमा बाढी तथा डुवानको खतरा रहने भएकोले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।


नदीहरुमा पनि जलसतह एक्कासी बढ्ने तथा केहीमा खतरा तह पार हुने संभावना पनि भएकाले सतर्क रहने आग्रह गरिएको छ ।
बसैबिच मौसम पूर्वानुमान महाशाखाले देशका २५ जिल्लामा साताभर मेघ गर्जनसहित पानी पर्ने भविष्यवाणी गरेको छ । सक्रियता बढाउँदै गएको मनसुनले देशभर आफ्नो फैलावट बढाइसकेको अवस्थामा २५ जिल्लामा बढी पानी पर्ने भविष्यवाणी गरेको हो ।


यो बेला खाद्यान्नका बीउ र मानिसको जीउ जोगाउन सतर्क रहनुपर्ने मौसमविद्हरू बताउँछन् ।
महाशाखाले बिहीबार विशेष भविष्यवाणी गर्दै ती २५ जिल्लामा कहिले हल्का, कहिले मध्यम तथा कहिले भारी वर्षाको अवस्था रहने जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले शुक्रबारसम्म देशका अधिकांश क्षेत्रमा भारी वर्षा हुने जानकारी दिए ।

उनले भने, “भारी वर्षाले पूर्वी, मध्य क्षेत्रको पहाडी भेग र तटीय क्षेत्रमा बढी प्रभाव पार्ने हुँदा उच्च सतर्कता अपनाउनुपर्छ । विशेष गरी तराईका पर्सा, चितवन र आसपासका क्षेत्रका आकाश घना बादलले ढाकेको छ । ” उनले पश्चिमका दार्चुला, डडेलधुरा, कैलाली, कञ्चनपुरका क्षेत्रमा पनि लगातार वर्षाको सङ्केत गरे ।

प्रतिक्रिया दिनुहोस्