मनसुन देशभर सक्रिय, धेरै स्थानमा लगातार वर्षा, बढ्दै बाढीपहिरोको जोखिम

काठमाडौं, असार २६ । मनसुनी गतिविधि सक्रिय भएसँगै आइपर्ने प्राकृतिक विपद्को जोखिम कम गर्न सम्बन्धित निकाय थप चनाखो भएका छन् ।

मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले निरन्तर वर्षाको क्रम अझै केही दिन रहने भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आह्वान गरेको छ ।

यस अवधिमा नेपालको अधिकांश स्थानमा वर्षा हुने र केही स्थानमा भारी वर्षा हुने र एक÷दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिए ।

“काठमाडौँ उपत्यकामा पूर्ण बदली छ,” उनले थपे, “अन्यत्र धेरैजसो स्थानमा मध्यम खालको बदली भइरहेको छ । ” उनका अनुसार गएको “मनसुनको न्यून चापीय क्षेत्र नेपाल र भारतको सिमानामा आइपुगेकाले पनि बढी वर्षा भएको हो,” बासीले थपे, “यसले बङ्गालको खाडीको बाष्पीय हावा तानिरहेको छ । ”

बिहीबार दिनभर अधिकांश क्षेत्रमा पूर्ण बदली रहने छ । देशका धेरै स्थानमा वर्षा हुनेछ । पश्चिमका केही र मध्य तथा पूर्वका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्