प्रधानमन्त्रीको चेतावनी : गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कारबाही हुन्छ

काठमाण्डौं, असार २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालय जस्तो पवित्र स्थलमा बेथिति भित्र्याउने तथा अनियमितता गर्ने कुनै पनि कर्मचारीमाथि कडा कारबाही हुने बताएका हुन् ।

त्रिभुवन विश्वविद्यालयको ६०औंँ वार्षिक दिवसको अवसर पारेर आयोजित बुधबार काठमाण्डौमा आयोजित प्राज्ञ सभामा बोल्दै
उनले विश्वविद्यालयमा गल्ती गर्ने कर्मचारीहरुलाई सरकारले दण्ड र राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार दिने पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले देशको शिक्षा क्षेत्रलाई विश्वमै प्रतिस्पर्धा गर्न लायक बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताए । उनले देशको आवश्यक्ताअनुसार दक्ष जनशक्ति निर्माणमा अग्रसर हुन पनि सबै विश्वविद्यालयहरुलाई आग्रह गरे ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयको छवि नै धुमिल हुने गरी गल्ती नगर्न विश्वविद्यालयका पदाधिकारीहरुलाई सचेत गराए । उनले विश्वविद्यालय भित्र कल्पना समेत गर्न नसकिने खालका बेथिति भित्रिएको उल्लेख गर्दै दुःख पनि व्यक्त गरे ।

बैठकमा विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर तीर्थराज खनियाले विश्वविद्यालयको आगामी नीति तथा कार्यक्रमबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्