विषादी परीक्षण रोक्न भारतले पत्र पठाएको सञ्चारमन्त्रीद्वारा स्वीकार

काठमाडौँ , असार २४ । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले तरकारी तथा फलफूलको विषाधि परीक्षण स्थगित गर्न भारतीय दुतावासले सरकारलाई पत्र पठाएको स्वीकार गरेका छन् ।

मन्त्री बास्कोटाले दुई देशका सरकारबीच पत्रहरु आउने, जाने उल्लेख गर्दै त्यसलाई अन्यथा लिन नहुने पनि स्पष्ट पारे ।

मंगलबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सीमा जोडिएका दुई मुलुकबीच आ–आफ्नो इन्ट्रेष्टका विषय हुने भएकाले त्यस्ता विषयमा हुने पत्रको आदानप्रदानलाई सरकारले स्वभाविकै रुपमा लिएको प्रतिक्रिया दिए ।

‘सरकारका बीचमा पत्रहरु आउने, जाने गर्छन, त्यसमा आ–आफ्नो इन्ट्रेष्टका विषयहरु पनि हुन सक्छन ।,’ मन्त्री बास्कोटाको भनाई थियो, ‘त्यसलाई अन्यथा लिनु हुँदैन । जब दुई देशका सीमा जोडिएका छन्, जब उत्पादनहरु आदानप्रदान हुन्छन भने त्यसमा त्यस्ता पत्र आदानप्रदान हुनु ठूलो कुरा होइन ।’

मन्त्री बास्कोटाले आयातित तरकारी तथा फलफूलमा हुने विषादी परीक्षणका लागि सरकार आवश्यक व्यवस्थापन गर्न गम्भीर रहेको पनि बताए ।

नागरिकको अधिकारसँग जोडिएको विषयमा सरकार गम्भीर रहेको र सो समस्या समाधान हुने गरी आफ्ना उत्पादनलाई वृद्धि गर्न सरकार लागि परेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्