यस्ता छन् सात प्रदेशको अस्थायी राजधानी केन्द्र

काठमाडौं । सरकारले सात वटै प्रदेशको अस्थायी राजधानीको खाका तयार पारेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी राजधानीको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी राजधानीको खाका तयार गरिएको जानकारी दिए ।

उनका अनुसार प्रदेश नंम्बर १ को विराटनगर, प्रदेश नंम्बर २ को जनकपुर, प्रदेश नंम्बर ३ को भक्तपुरको ठिमी, प्रदेश नंम्बर ४ को पोखरा, प्रदेश नंम्बर ५ को दाङ, प्रदेश नंम्बर ६ को सुर्खेत र प्रदेश नंम्बर ७ को धनगढी अस्थायी मुकाम तोकिएको छ । शहरी विकास मन्त्रालयले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुने भएपछि मुकाम राख्नका लागि प्रस्ताव गरेको हो ।

मन्त्रालयका सहसचिव राजेन्द्र पौडेलको टोलीले प्रत्येक प्रदेशका सबै ठाउँको स्थलगत अध्ययन गरी ती स्थानमा मुकामको प्रस्ताव गरेको हो । “टोलीले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुन्छ भनेर पठाएपछि हामीले खाका तयार पारेका हौँ”, प्रवक्ता पन्थीले भने, “अब आवश्यक अध्ययनपछि मन्त्रिपरिषद्को बैठकले ती प्रस्ताव गरेका मुकामलाई तोक्ने छ ।”

अस्थायी रुपमा तोकिएका ती मुकाम प्रदेश सरकारले पुनः हेरफेर गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्