गुरुङ्गको उपचारार्थ रु.१ लाख ३ हजार रकम हस्तान्तरण
काठमाडौं, २३ असार । धादिङ्ग, नीलकण्ठ नगरपालिका–११ लामस्थान (माथिल्लो गुरुङ्ग गाउँ) निवासी लोपित मान गुरुङ्ग (वैदार सक्कल)लाई उपचारार्थ संकलित सहयोग रकम हस्तान्तरण गरिएको छ ।
मतिष्कघात भई शिक्षण अस्पताल महाराजगंजमा उपचारत रहनु भएका गुरुङ्गलाई धादिङ्ग ज्यामरुङ्गबाट काठमाडौं आई विभिन्न व्यवसायमा आवद्ध व्यवसायीहरुको पहलमा देश तथा विदेशमा रहेका सहयोगीमनहरुबाट संकलित रु.१ लाख ३ हजार ७ सय ५५ रुपैंयाँ सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच बिरामीका श्रीमती पोरी कुमारी गुरुङ्गलाई हस्तान्तरण गरिएको हो ।
६८ बर्षीय गुरुङ्ग यहि असार ११ गते मतिष्कघात भई त्रि.वि.शिक्षण अस्पताल महाराजगंजको सर्जीकल वार्ड वेड नं.४१५ मा उपचारत हुनुहुन्छ । घरको आर्थिक अवस्था अत्यन्त नाजुक भएकाले उहाँको उपचारमा सहयोगार्थ स्थानीय तथा काठमाडौंमा विभिन्न व्यवसाय गर्ने व्यवसायीहरुको पहलमा उक्त रकम संकलन गरिएको हो । गुरुङ्गको पारिवारीक आर्थिक अवस्था कमजोर भएकाले उनको उपचारमा केहि राहत तथा सहयोग पुगोस् भनेर अभियान सञ्चालन गरेको यस अभियानका अभियन्ता ज्ञान नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
यस अभियानमा कृष्णमान श्रेष्ठ, भाइराम थापा, आरती गुरुङ्ग, गणेश गुरुङ्ग लगायतले विशेष भूमिका खेल्नु भएका छन् । विगतका दिनहरुमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको र सहयोगीहातहरुबाट संकलित रुकमले पीडितहरुलाई धेरै राहत मिलेको कुुरा अभियानका संयोजक कृष्णमान श्रेष्ठले बताउनु भयो ।
रकम हस्तान्तरण कार्यक्रममा व्यवसायीहरु रमेश धमला (सानो), तारालाल धरेल, दिनेश विष्ट, लिला विष्ट, सपना गुरुङ्ग पाबर्ती गुरुङ्ग लगायत महानुभावहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्