सर्लाही घटनाः गृहको छानबिन टोलीले थाल्यो अनुसन्धान
काठमाडौं, असार २१ । सर्लाहीमा भएको घटनाको छानविनको गृहको छानबिन टोलीले अनुसन्धान थालेको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँकेमा प्रहरीको गोली लागेर मृत्यु भएको घटनाको छानबिन गर्न गठित गृह मन्त्रालयको टोली सर्लाही आइपुगेको छ। टोली शनिबार सर्लाही आएको हो।
सो टोलीले शनिबारबाटै सरोकारवाला निकायसँग सोधपुछ र जानकारी लिनसमेत सुरु गरेको छ।
ईश्वरपुर नगरपालिका–१३, गौरीशंकरका १२ वर्षीय बालक अमित रायको बाँके खोलामा क्रसर उद्योगले बनाएको गहिरो खाल्डोमा डुबेर मृत्यु भएको थियो। यसपछि पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गर्न आएका स्थानीय र प्रहरीबीच झडप भएको थियो।
सो झडपमा परी स्थानीय २७ वर्षीय देवन भनिने सरोजनारायण महतोको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो। यस घटनाको छानबिन गर्न गृह मन्त्रालयले छानबिन टोली गठन गरेको थियो। घटनाका सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयका उपसचिव कमल ढकाल नेतृत्वको टोली जिल्ला आएर विभिन्न निकायसँग सोधपुछ र जानकारी लिन सुरु गरेको छ।
सो झडपमा परी एक जना प्रदर्शनकारी, ११ जना प्रहरी र ६ जना सशस्त्र प्रहरी घाइते भएका थिए। टोलीले जिल्लाका सुरक्षा अधिकारी, जनप्रतिनिधि, राजनीतिकर्मी, स्थानीयवासी र मृतकका परिवारसँग घटनाको सम्बन्धमा सोधपुछ गरिरहेको छ। घटनापछि स्थानीयको आक्रोश बढेको यस क्षेत्रमा बुधबार साँझ मृतकका परिवारसँग सहमति भएपछि शान्त बनेको छ।
सर्लाहीको बाँकेमा भएको घटनाको छानबिन गर्न प्रदेश २ सरकारले पनि बेग्लै समिति गठन गरेको छ। घटनाका सम्बन्धमा राष्ट्रिय जनता पार्टी नेपालले मानवअधिकार आयोग समक्ष छानबिनको माग गर्दै निवेदन पेस गरेको छ।
बिहीबार प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले गाउँमै आएर दुवै मृतकका परिवारलाई भेट गरी किरिया खर्च बापत २५–२५ हजार रुपैयाँ प्रदान गरेका छन्। ईश्वरपुर नगरपालिकाको पहलमा बुधबार भएको छलफलपछि सहमति भएको थियो।
गोली लागेर मृत्यु भएका सरोज नारायणलाई सहिद घोषणा गर्न सिफारिस गर्ने, मृतककी पत्नीलाई वडा कार्यालयमा रोजगारी उपलब्ध गराउने, खोलामा डुबेर मृत्यु भएका बालक अमितका परिवारलाई राहतस्वरूप ५ लाख रुपैयाँ उपलब्ध गराउने लगायतका १४ बुँदे सहमतिपछि जिल्ला अस्पतालमा राखिएको शव आफन्तले चार दिनपछि बुझेका थिए।
प्रतिक्रिया दिनुहोस्