भारतीय तरकारी आयात : सरकारको निर्णयप्रति सत्तारुढ भ्रातृ संगठनले नै गर्यो विरोध

काठमाडौं , असार २१ । भारतबाट आयात हुने तरकारीको भन्सार विन्दुमा भइरहेको विषादी परीक्षण कार्य तत्कालका लागि स्थगित गर्ने सरकारको निर्णयप्रति सत्तारुढ नेकपाको भ्रातृ संगठनले नै विरोध जनाएको छ।

नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले सरकारको यो निर्णय संविधानविपरीत भएको दाबी गरेको हो।

संगठनका कार्यवाहक अध्यक्ष रञ्जित तामाङले विज्ञप्ति निकाल्दै सरकारको निर्णय संविधानको धारा ३६ को खाद्य सम्बन्धी मौलिक हकको मर्म्विपरीत रहेको दाबी गरेका हुन्।


‘यो निर्णयबाट सरकार र सरकारका निकाय प्रत्यक्ष वा परोक्ष रूपमा कतै अनुचित विदेशी दबाबमा परेर पछि हटेका त हैनन् भन्ने गम्भीर आशंका समेत पैदा भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ कुनै पनि शक्ति केन्द्रको अनुचित दबाबमा नपरी आयतित विषाक्त फलफूल र तरकारीको सीमा क्षेत्रमा परीक्षण गरेर मात्र प्रवेश गराउने पूर्ववतः निर्णयमा अडिग रहन नेपाल सरकार र अन्य सम्बद्ध मन्त्रालय समक्ष जोडदार माग गर्दछौँ।’

यो निर्णयविरुद्ध जनताले पनि आपत्ति जनाएका छन् । भारतबाट आयात हुने तरकारीको भन्सार विन्दुमा भइरहेको विषादी परीक्षण कार्य स्थगित गरेको भन्दै आपत्ति जनाएका हुन् ।
भारतीयको तरकारीको बहिस्कार गर्न समेत उनीहरुले आवाज उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्