भारतको चर्काे दबाबपछि सरकार आफ्नो निर्णयबाट पछि हट्यो, जाँच नगरी नेपाल पठाउन सर्कुलर जारी

काठमाडौँं , असार २० । भारतको चर्को दवावपछि सरकारले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने आफ्नै निर्णय परिवर्तन गरेको छ ।

भारतीय दूतावासले नेपालका सरकारी अधिकारीलाई विषादी परीक्षण नगर्न दिएको दबाबपछि आफ्नो निर्णबाट पछि हटेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सीमा नाकामा विषादी जाँच नगर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । पूर्वएमाले निकट ती मन्त्रीका अनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी जाँच नगर्ने ठाडो प्रस्ताव लगेका थिए ।


‘हाम्रो राष्ट्रवाद कस्तो हो भन्ने यसैबाट बुझिन्छ । यो भन्दा अरु के भन्न सकिन्छ र ?’ व्याङ्ग्यात्मक शैलीमा ती मन्त्रीले भने, ‘जतिसुकै ठूला र चर्का कुरा गरेपनि भारतको दबाब थेग्न मुस्किल रहेछ ।’

मन्त्रिपरिषद्को यो निर्णयसँगै भन्सार नाकामा शुक्रबारबाटै भारतबाट नेपाल भित्रिने तरकारी र फलफुल जाँच नगरी नेपाल पठाउन सर्कुलर जारी गरेको भन्सार विभागका एक उच्च अधिकारीले बताए ।

गत जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी र फलफूल परीक्षण गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा असार २ गतेदेखि भारतबाट नेपाल आउने तरकारी र फलफूलको विषादी परीक्षण सुरु भएको थियो । कालीमाटी बजारमा आउने तरकारी तथा फलफूल ४० प्रतिशत भारतबाटै आउँछ । बाँकी ६० प्रतिशत बजार स्थानीय उत्पादनले ओगटेको छ ।

प्रतिक्रिया दिनुहोस्