सरकारको विरोध गर्न केही व्यक्तिहरु मास्क लगाउन थालेः प्रधानमन्त्री

काठमाडौँ , असार २० । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विरोध गर्न केही व्यक्तिहरु मास्क लगाएर हिँड्न थालेको बताएका छन् ।

उनले काठमाडौँमा धुँवा धुलोको समस्या कम हुँदै गएको प्रसंगमा आफूले मास्क नलगाए पनि हुने अवस्था बनेको भन्दै दिएको अभिव्यक्तिको बचाउ गरे ।

समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ‘अहिले मास्क नलगाएर पनि हिँड्न सकिन्छ । यसलाई सुधार गर्दैछौँ भनेको थिएँ । तर त्यसपछि सरकारको विरोध गर्न केहीले मास्क लगाउन थालेका छन् ।’

‘मास्क लगाउने बानी गर्दा राम्रै हुन्छ । मेरो रिसले भए पनि मास्क लगाइदिनुहोला । तर, यसले बाटो सफा गर्ने हाम्रो काम रोकिँदैन’, ओलीले भने ।

उनले काठमाडौंमा मास्क लगाउन नपर्ने आफ्नो अभिव्यक्तिको पनि बचाउ गरेका छन् । आफूले प्रधानमन्त्री भएको बेला काठमाडौंमा मास्क नलगाई हिँड्नै नसक्ने अवस्था रहेको तर अहिले त्यसमा सुधार आएको भनेको भन्दै उनले भने, ‘अहिले मास्क नलगाएर पनि हिँड्न सकिन्छ । यसलाई सुधार गर्दैछौं भनेको थिएँ ।’

त्यसपछि सरकारको विरोधका लागि केहीले मास्क लगाउन थालेको उनले बताए ।
प्रधानमन्त्री ओलीले केही दिनअघि आफू प्रधानमन्त्री हुँदा आधा मानिसले मास्क लगाउने गरेको तर, हटेको दाबी गरेका थिए, जसको चर्को आलोचना भएको थियो ।
उनले मुलबाटो मात्र पिच गर्दा सहायक सडकहरुबाट धुलो आउने गरेको भन्दै सिंगो काडमाडौैं उपत्यकालाई कालोपत्रमय बनाउन जरुरी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्