प्रदेश प्रहरी समायोजन प्रकृया चाडो टुंग्याउन सांसदहरुको सुझाव , गृहमन्त्री थापा यसो भन्छन्

काठमाडौं , असार १९ । गृहमन्त्री रामबहादुर थापाले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि अझै गृहकार्य आवश्यक रहेको बताएका छन् ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आज सिंहदरबारमा बसेको बैंठकमा उनले ठोस प्रस्ताव तयार पारे पछि छलफल गरेर टुंगोमा पुग्ने बताए ।

बैठकमा गृहसचिव प्रेमकुमार राईले नेपाल प्रहरीको समायोजनको क्रममा तह बढुवा गर्न नसकिने उल्लेख गरे ।

समायोजन रोज्ने निजामती कर्मचारीहरुको दुई ग्रेड र एक तह वृद्धि गरिएजस्तै प्रहरीमा पनि गर्नुपर्ने माग उठिरहेका बेला उनले त्यसो गरिए अप्ठेरो पर्न सक्ने बताए

गृहसचिव राईले समायोजनको क्रममा डीएसपीभन्दा तलका सबै पद प्रदेशअन्तर्गत रहने र माथिको पद केन्द्र मातहत रहने भनेर प्रारम्भिक प्रस्ताव तयार पारेको जानकारी दिए ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी समायोजनको आधार तयार भइ सकेको भन्दै सैद्धान्तिक विषयमा कुरा मिले समायोजन प्रकृया अगाडि बढाउन सकिने बताए ।

उनले अहिलेदेखि नै प्रदेशको अभ्यास गरिरहेकाले समायोजनको निम्ति कुनै समस्या नपर्ने बताए ।

महानिरीक्षक खनालले कुन प्रदेशमा कति जनशक्ति चाहिन्छ भनेर प्रारम्भिक तथ्यांक तयार पारेको र अहिले २६ हजार जनशक्ति प्रदेशमा पठाएको जानकारी दिए

सांसदहरुले भने प्रदेश प्रहरी समायोजन प्रकृया चाडो टुंग्याउनु पर्नेमा जोड दिएका छन् ।

सांसद जर्नादन शर्माले प्रदेश प्रहरीलाई कमजोर बनाउन नहुने भन्दै संविधान अनुसार प्रदेश प्रहरीलाई अधिकार दिनु पर्ने बताए ।

उनले प्रदेश सरकार सरकार जस्तो नभएको गुनासो गरे ।

सांसद दिलेन्द्रप्रसाद बडु, अमरेश कुमार सिंहलगायतले प्रदेश प्रहरी संख्या यकिन गरी अगाडि बढ्नु पर्ने भन्दै धेरै अलमल नगर्न समितिकी सभापति शशि श्रेष्ठको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्