मन्त्री पण्डित भन्छन – एकजना नासुको सरुवाका लागि ३२ जना सांसद आए

काठमाडौं, असार १८ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एकजना नायब सुब्बाको सरुवाका लागि आफूकहाँ ३२ जनासम्म सांसद आएको बताएका छन् ।

उनले यसरी सांसद आएको भन्दै अब बन्ने ऐनमा भनसुनको सुनुवाइ हुनै नसक्ने प्रावधान राख्नुपर्ने बताए ।

मन्त्री पण्डितले कर्मचारी सरुवामा भनसुनको विकृत परम्परा रहेकाले सच्याउन आवश्यक रहेको बताउदै यस्ता विकृतीको अन्त्य गरेरै अगाडी जानु पर्नेमा जोड दिए ।

बुधबार प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सन्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलकाक्रममा मन्त्री पण्डितले विगतको तीतो अनुभव सुनाउँदै सरुवामा हुने भनसुनको विकृतिलाई हटाउने गरी व्यवस्था गर्न आग्रह गरेका हुन् ।

मन्त्रीको आग्रहलगत्तै समितिकी सभापति शशी श्रेष्ठले छलफलकाक्रममा उठेका विषय सम्बोधन हुनेगरी दफा तयार गर्न सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालालाई निर्देशन दिइन् ।

छलफलकाक्रममा सांसद जनार्दन शर्माले कार्यसम्पादनमा उत्कृष्ट कर्मचारीलाई निश्चित अवधिसम्म सरुवा गर्न नपाइने तर कार्यसम्पादन राम्रो नभएका कर्मचारीलाई जतिखेर पनि हटाउन सक्ने व्यवस्था गर्नुपर्ने धारणा राखे ।

सांसद महेश्वरजंग गहतराजले विकास निर्माणसम्बन्धी योजनाका कर्मचारीको पटक–पटक हुने सरुवाले काम प्रभावित हुने प्रवृत्ति रोक्न ऐनमै व्यवस्था गर्नुपर्ने धारणा राखे ।

सांसद दिलेन्द्रप्रसाद बडूले केही विशेषखालका परियोजना अवधिभर परियोजना प्रमुखलाई हटाउन नमिल्ने व्यवस्था गरे परियोजना प्रमुख परियोजना निर्माणमा उत्तरदायी हुने बताए ।

बुधबारको बैठकमा कर्मचारीको सरुवा र काजसरुवाको प्रावधानमाथि छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्